
मंगलवार , श्रावण २९, २०८१
बुटवल, २९ साउन ।
रोटरी ई-क्लब अफ मेडिकोफ्युजन हाईब्रीड नेपाल र लियो क्लब अफ भलबारीको संयुक्त आयोजनामा बुटवलको नहरपूर माध्यमिक विद्यालयमा मानसिक स्वास्थ्य एवं लागूऔषध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत २ सय जना विद्यार्थीको सहभागीता रहेको थियो ।
लियो क्लब अफ भलवारीकी अध्यक्ष सुमना केसीको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी ई—क्लब अफ मेडिकोफ्युजन हाईब्रीड नेपालका अध्यक्ष एवं वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ रोटरीयन डा. विक्रम काफ्ले र मनोविद् यशोदा बगालेले सहजीकरण गरेका थिए ।
सो क्रममा डा. काफ्लेले लागूऔषध सम्बन्धी दुव्र्यसनको अवस्थाको बारेमा जानकारी गराउँदै बालबालिका, युवा तथा किशोरकिशोरीहरु यसमा फस्नुको कारण र बच्ने उपायको बारेमा स्पष्ट पारे । त्यस्तै मनोविद् यशोदा बगालेले बालबालिकामा देखिने मनोसामाजिक समस्याको बारेमा जानकारी गराउँदै त्यसको समाधानको उपायको बारेमा प्रकाश गरिन् ।
लियो क्लबकी अध्यक्ष केसीले सचेतना कार्यक्रमबाट धेरै विद्यार्थीहरु लाभान्वित भएको बताउँदै यस्ता कार्यक्रम अन्य विद्यालयमा पनि गरिने बताइन् ।
कार्यक्रममा विद्यालयको कोअर्डिनेटरले विद्यार्थीमा चेतना जगाउने कार्यक्रमहरु निरन्तर रुपमा गर्न क्लवलाई आग्रह गरे । रोटरी ई—क्लब अफ मेडिकोफ्युजन हाईब्रीड नेपालले विभिन्न विद्यालयहरुमा मानसिक स्वास्थ्य एवं लागूऔषध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij