२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल फार्मास्युटिकल्स एसोसिएशन लुम्बिनी प्रदेशको आयोजनामा एकदिने तालिम सम्पन्न

बुधवार , श्रावण ३०, २०८१

भैरहवा, ३० साउन ।
नेपाल फार्मास्युटिकल्स एशोसिएशन लुम्बिनी प्रदेश (एनपीए) को आयोजनामा ’इमर्जिङ कन्सेप्ट एण्ड प्राक्टिकल अप्रोच अन करेन्ट गुड म्यानुफ्याक्चरिङ प्राक्टिस इन फार्मास्युटिकल्स’ विषयक एकदिने तालिम भैरहवामा सम्पन्न भएको थियो ।

तालिममा विभिन्न १७ वटा औषधि उद्योगबाट गरी १ सय बढी प्रतिनिधिहरुको सहभागीता रहेको एनपीए लुम्बिनी प्रदेशका अध्यक्ष भोजराज बस्यालले जानकारी दिए ।
उनका अनुसार तालिममा छिमेकी मुलुक भारतका साथै वीरगञ्ज, नारायणगढ र नेपालगञ्जबाट सहभागीहरूको उपस्थिति भएको थियो । 

‘रूपन्देहीमा यस्तो कार्यक्रम सञ्चालन भएको यो पहिलोपटक हो ।  यसप्रकारको तालिमका लागि हामी सधैं काठमाडौं, चितवन वा वीरगञ्ज जानुपर्दथ्यो, अब हामी भैरहवामा यस्तो खालको प्रशिक्षणको लागि धेरै सम्भावना देख्न सक्छौं र प्रशिक्षणको आयोजना गर्न विश्वस्त छौं । हामी अन्य संस्थालाई पनि प्रोत्साहित गर्दछौं र रूपन्देहीमा प्रशिक्षण सञ्चालन गर्न निमन्त्रणा गर्दछौं, ’उनले भने ।

कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले यस्तो प्रशिक्षण कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताए । उनले एनपीए लुम्बिनी प्रदेशले यस्तो राम्रो प्रशिक्षणका कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै निकट भविष्यमा पनि यसप्रकारको प्रशिक्षण सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रममा युएसपीका वरिष्ठ प्राविधिक सल्लाहकार अच्युतविक्रम थापा, प्रशिक्षक सभ्यता खनाल बस्याल र सुरज बहादुर थापाले प्रशिक्षण दिएका थिए । एनपिए लुम्बिनी प्रदेश अध्यक्ष भोजराज बस्यालको अध्यक्षता, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालको प्रमुख आतिथ्यता तथा एनपीए सचिव सचिन अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

एनपीए उपाध्यक्ष मोहन चौधरीको स्वागतमा भएको कार्यक्रममा एनसीडीएका केन्द्रीय पूर्वअध्यक्ष बाबुराम भट्टराई, एसियान फर्मास्युटिकल्सका सि.एमडी हुतानन्द खनाल, सीसीटी कलेज फार्मेसी संयोजक मुकेश कुमार चौधरी, एनपीए केन्द्रीय उपाध्यक्ष अमृत गौरोलगायतले बोलेका थिए ।