२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भदौ ४ गते लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने

बिहिवार , श्रावण ३१, २०८१

भैरहवा, ३१ साउन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौको ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार भदौ ४ गते बस्ने बैठकमा आचार्यले विश्वासको मत लिनेछन् । जसअनुसार बैठक आह्वान गरिएको र कार्यसूची समेत तय भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले बताए ।

आचार्य साउन ७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । उनले ९ गते पद तथा गोपनीयताको सपथ लिएका थिए । मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

नेकपा (एमाले) र नेपाली काँग्रेसका ५६ जना प्रदेश सभा सदस्यहरुको समर्थनमा नियुक्त भएका एमाले संसदीय दलका उपनेता आचार्य नेतृत्वको सरकारमा हाल एमालेका पाँच र काँग्रेसका चार जना मन्त्री छन् । मुख्यमन्त्रीलाई केही साना दलहरुले समेत विश्वासको मत दिने जनाइएको छ । सरकारलाई पूर्णता दिन अझै बाँकी छ ।