२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

भ्रष्टाचार कसुरमा हदम्याद राख्ने विषयमा प्रयाप्त छलफल जरुरी : प्रचण्ड

बिहिवार , श्रावण ३१, २०८१

  • 928
    Shares
  • 928
    Shares
  • काठमाडौं, ३१ साउन ।

    नेकपा (माओवादी  केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार कसुरमा हदम्याद राख्ने विषयमा प्रयाप्त छलफल हुनु जरुरी रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफलका क्रममा प्रचण्डले हदम्यादमा विषयमा विभिन्न कोणबाट कुरा आइरहेको भन्दै हदम्याद राख्ने वा नराख्ने भन्ने विषयमा प्रयाप्त छलफल गर्दै निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् । 

    उनले विधेयकलाई अघि बढाउँदै गर्दा अख्तियारको भूमिकालाई पनि थप स्पष्ट पार्नुपर्ने आवश्यकता औल्याए ।

    आयोग र कर्मचारीतन्त्रबीचको अन्तरविरोधले शासन व्यवस्थालाई नै असर पारेको अनुभव रहेको भन्दै प्रचण्डले यस विषयमा पनि थप छलफल आवश्यक रहेको बताए ।

    पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भ्रष्टाचार कसुरमा निलम्बतपश्चात् अदालतले अन्तिम फैसला दिँदासम्म निर्दोष भनेको अवस्थामा क्षतिपूर्ति कस्तो हुने भन्ने विषय जटिल रहेको धारणा राखे । अदालतले फैसला नगर्दासम्म निलम्बित नहुने व्यवस्था गर्न सकिने उनले बताए ।

    प्रचण्डले शासन प्रणाली र नियमक संरचनाहरुमा परिमार्जन र सुधार गर्नुपर्ने धेरै विषयहरु रहेको उल्लेख गरे । अहिले सूचना प्रविधिमा देखिएको विकाससँगै समयानुकुल भ्रष्टाचार नियन्त्रण गर्न विधेयकलाई पूर्ण बनाउनुपर्ने समेत उनले सुझाव दिए ।