
बिहिवार , श्रावण ३१, २०८१
काठमाडौं, ३१ साउन ।
डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ मा समावेश गीत ‘बोल्ने कोही छैन’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सेलिब्रेटी टाइम्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक लिरिकल भिडियोमा केही थोरै फिल्मका दृश्यहरु पनि देखाइएको छ ।
निर्माण टीमले यस लिरिकल गीतमार्फत फिल्म कुन कथामा निर्माण भएको भन्ने कुरा देखाउने प्रयास गरेको छ । चर्चित तथा स्थापित गायक शिशिर योगीको आवाज तथा म्युजिक, कवि अर्जुन पराजुलीको शव्द, विवी अनुरागीको एरेन्जमा यो गीत तयार भएको हो । विभिन्न फिल्म फेस्टिबल तथा विशेष शो सकिएपछि ‘रित्तो गाउँ’ कुनै ओटिटी प्लेटफर्ममार्फत सार्वजनिक गर्ने निर्माण टीमको तयारी छ ।
यस फिल्ममा हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउत लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । डकुमेन्ट्री पार्टमा भने देशभरका विभिन्न घटना र दृश्य देखाइएको छ ।
रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार ‘रित्तो गाउँ’ ले युवा पलायनले रित्तिंदै गएको गाउँको कथा प्रस्तुत गर्छ । यसअघि आधा दर्जन बढी सर्ट फिल्म केही म्युजिक भिडिओ निर्माण गरेका ज्ञवालीले त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित रहेर यस डकुमेन्ट्री सर्ट फिल्म तयार पारेका हुन् ।
आनन्दराज प्रोडक्सनको ब्यानरमा सेलिब्रेटी टाइम्स प्राइभेट लिमिटेडले निर्माण गरेको यस फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन् । कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कंडेल कार्यकारी निर्माताका रूपमा छन् ।
निरज कंडेलको छायांकन, नहकुल खड्काको सम्पादनमा तयार फिल्ममा कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् भने साउण्ड डिजाइन भरत कंडेलको रहेको छ ।
केही समय अघि काठमाडौंमा भएको विशेष प्रदर्शनमा सहभागी दर्शक तथा अतिथिले यस फिल्मलाई निकै राम्रो प्रतिक्रिया दिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij