२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

छाडा चौपायाको उचित व्यवस्थापन गर्न बीएमजीको माग

शुक्रवार , श्रावण २३, २०७७

भैरहवा, २३ साउन ।
भैरहवा मर्निङ वाक गु्रप (बीएमजी)ले भैरहवाका सडकमा छाडिएका छाडा चौपायाहरुको उचित व्यवस्थापन गर्न माग गरेको छ । केही समय यता नगर क्षेत्रभित्रका मुख्य सहायक सडक तथा गल्लीहरुमा छाडा गाई, गोरु र कुकुरहरुको संख्या अत्याधिक रुपमा वृद्धि भएकोले छाडा चौपायाहरुको व्यवस्थापन गरी नगरको सुन्दरता कायम गर्नुपर्ने बीएमजीको माग छ ।

छाडा चौपायाले नगरको सुन्दरतामा ह्रास हुनुको साथै सडक दुर्घटना बढेको तथा बौलाहा कुकुरको टोकाइले स्वास्थ्यमा प्रतिकुल प्रभाव पारेकोले मानवीय जिउधनको हुने नोक्सानीबाट जोगाउने काममा यथाशिघ्र पहल गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बीएमजीका अध्यक्ष ओमकार गौचनले बताए ।

शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थलाई ध्यानाकर्षण पत्र बुझाउँदै बीएमजीले छाडा चौपायाको व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालयले पनि आवश्यक कदम चाल्नुपर्ने माग गरेको छ ।

त्यस्तै गर्मीको समयमा अनियमित विद्युत आपूर्तिका कारण दैनिक जीवन कष्टकर बन्दै गएकोले नियमित विद्युत आपूर्तिमा निरन्तरताको लागि यथाशिघ्र पहल गरिदिन बीएमजीले आग्रह गरेको छ ।

त्यसै गरी नेपाल भारतको सीमामा पर्ने मुख्य मुख्य नाकासहित ग्रामीण वडामा पर्ने खुला सीमामा गस्ती बढाएर सीमापारिबाट हुने मानवीय आवातजावतलाई पूर्ण रुपमा रोक लगाउनुपर्ने, सीमापारिबाट हुने खाद्यान्न, फलफूल, तरकारी र मासुजन्य पदार्थको आयात गर्दा गुणस्तरको जाँच कडाइका साथ पालना गरी भित्र्याउनुपर्ने,  गोष्ठी, सभा भइरहेकोले त्यस्ता कार्यक्रम कडाइका साथ रोक्नुपर्ने,  अत्याधिक भीडभाड हुने सरकारी कार्यालय, बैंक, वित्तीय संस्था र व्यापारिक स्थानहरुमा निश्चित मापदण्ड अपनाइ सेवा दिनुपने बीएमजीको माग छ ।

त्यस्तै अनुगमन कार्यलाई तीव्रता, व्यापक र प्रभावकारी बनाउनुपर्ने, नगरभित्र पीसीआर पद्धतिको परीक्षणलाई समुदाय तहमा पु¥याउन दायरा बढाउनेतर्फ नगरपालिकाले व्यवस्था मिलाउनुपर्ने र सर्वसाधारण नगरवासीलाई रोगको संवेदनशीलता, सामाजिक दुरी, माक्सको प्रयोग, सेनिटाइजरको प्रयोग तथा साबुन पानीले हात धुने सम्बन्धि चेतना अभिवृद्धि गर्न व्यापक रुपमा चेतनामूलक कार्यक्रम गर्नुपर्ने ध्यानाकर्षण पत्रमार्फत माग गरिएको बीएमजीका संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठले बताए । उनले छाडा चौपायाको व्यवस्थापनको लागि सिद्धार्थनगर नगरपालिकाले चासो नदिएको बताए ।

अधिवक्ता तुल्सीराम ढकालले छाडा चौपायाको व्यवस्थापन गर्न स्थानीय सरकारको ध्यान जानुपर्ने बताए । उनले छाडा चौपायाको आक्रमणबाट घाइते भएका नागरिकलाई क्षतिपूर्ति दिनुपर्ने माग गरे । ‘नगरवासीको सुरक्षामा ध्यान दिनुपर्ने दायित्व जनप्रतिनिधिको हो, उनले भने ।’

IMG_9224.JPGत्यस्तै नागरिक अगुवा तथा तथा अभिवक्ता प्रख्यात बञ्जाडेले छाडा चौपायाको आक्रमबाट घाइते भएका नागरिकलाई क्षतिपूर्ति दिनुपर्ने, छाडा चौपायाको उचित व्यवस्थापन गर्नुपर्ने, दशगजा क्षेत्रमा अनाधिकृत सडक तथा नहर निर्माण भएकोले त्यसलाई रोक्न पहल गर्नुपर्ने, अनियमित विद्युत कटौती भएकोले त्यसको समाधान गर्नुपर्ने, सीमा स्तम्भहरु हराइरहेकोले यसको संरक्षण गर्नुपर्ने लगायतका माग राख्दै प्रजिअ पन्थलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 
सो अवसरमा बोल्दै प्रजिअ पन्थले बीएमजीले उठाएका मागहरुबारे आवश्यक छलफल गर्ने बताए ।