२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पुस्तक ‘आनन्द संहिता’ को लुम्बिनीमा विमोचन

शुक्रवार , श्रावण ३२, २०८१

लुम्बिनी, ३२ साउन । 
लेखक तथा पत्रकार घनश्याम खड्काको गैरआख्यान कृति ‘आनन्द संहिता’ को बुद्ध जन्मस्थल लुम्बिनीमा विमोचन गरिएको छ । बुद्ध दर्शन र आनन्द प्राप्तीको मार्ग देखाउने उदेश्यले लेखिएको पुस्तकलाई बौद्ध धर्म गुरु श्याल्पा तेजिङ रिन्पोंछेले विमोचन गरेका हुन् । 

बिहीबार बौद्ध गुरु श्याल्पा रिपोंछेसँगै प्रतिनिधि सभा सदस्य सन्तोष परियार, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्य, लेखक घनश्याम खड्का, प्रकाशक विमल खड्का र नेटुवा किशोरी ज्योति नेटुवा सरिक थिए । उत्प्ररेणादायी पुस्तक ‘आनन्द संहिता’ अल्केमी पब्लिकेशन्सद्वारा प्रकाशन गरिएको हो । पुस्तकमा आनन्दपूर्ण जीवनको अनुवोध कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित छ । 

मानिसले जीवनमा सबै काम आनन्द पाइएलाकी भनेर गरे पनि अन्ततः दुःखले अत्याउने गरी किन घेरिन्छ त्यस अवस्थाबाट मुक्त कसरी हुने भन्नेबारे पुस्तकमा विवेचना गरिएको छ । 

शान्तिका प्रतिक महामानव गौतमबुद्धको उपदेश र मार्गलाई पछ्याउँदै लेखिएको पुस्तक बुद्ध जन्मस्थलमै विमोचन गरेर लेखकले लुम्बिनीको समेत विश्वभर प्रवद्र्धनमा जोड दिएका हुन् । 

विमोचन कार्यक्रममा श्याल्पा तेजिङ रिन्पोंछेले गौतमबुद्धको शिक्षाले मानिसलाई दुःखबाट मुक्तिका लागि मार्गदर्शन गरेको उल्लेख गर्दै पत्रकार लेखक खड्काले पनि आनन्द संहितामार्फत त्यही सन्देश दिएको बताए । उनले पुस्तकले आनन्द प्राप्तीको खोजीमा रहेका पाठकहरुलाई मार्गदर्शन गर्ने बताए । 

विमोचनमा प्र्रतिनिधि सभा सदस्य सन्तोष परियारले गैरआख्यान पुस्तकको सिमितामा पनि पुस्तकले मान्छेको जीवनको आनन्दलाई भित्रैबाट बाहिर निकाल्ने काम गरेको बताए । उनले पत्रकारितामार्फत पिँधमा पारिएकाहरुको कथा लेखिरहेको पत्रकारले मान्छेका जीवनका विभिन्न पाटाहरुलाई बुद्धमार्गसँग जोड्दै आनन्द प्राप्तीबारे आम पाठकलाई सरल रुपमा बुझाउने प्रयत्न गरेको बताए । ‘सुख र दुःख बाहिरी कुरा रहेछन, आनन्द भित्रि प्राप्ती हो, यो कुरा यही पुस्तक पढेर थाहा पाएँ’ परियारले भने । 

लेखक घनश्याम खड्काले पुस्तकले विश्वले मानेको बुद्धको जन्मस्थलमा आएर पुस्तक विमोचन गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले बुद्ध भनेको व्यक्ति नभइ चरित्र भएको बताउँदै बुद्धले भनेजस्तै दुःखकाट मुक्ति पाउने भनेको आनन्द प्राप्ती भएको लागेकाले पुस्तकमा तीनै कुराहरु लेखिएको बताए । उनले जीवनभर सबैले आनन्दकै खोजी गरिरहे पनि अधिकांशको जीवनमा परिणाम भने ठीक विपरीत हात लाग्ने हुनाले आम रुपमा दुःख नै जीवनको सत्य हो भन्ने भान पर्न गएको बताए । 

विमोचन कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्य, सहप्राध्यापक डा. शारदा पौडेल, शंकर भण्डारीले पुस्तकमाथि समीक्षा गर्दै पुस्तकले जीवनमा आनन्द प्राप्तीको विषयलाई सरल रुपमा पाठकलाई बुझाउने काम गरेको बताए । 

अल्केमी पब्लिकेशन्सका विमल खड्काले ‘आनन्द संहिता’ को प्रत्येक अध्यायमा आनन्द प्राप्तिको सरल तर अद्भुत मीमांशासहित अन्त्यमा त्यसको प्रयोग गर्ने विधिसमेत उल्लेख गरिएकाले पुस्तक उपयोगी रहेको बताए । 

पुस्तकले आनन्द प्राप्तिको विभिन्न विधि र दृष्टिकोणलाई सूक्ष्म रूपमा विश्लेषण गर्दै जीवनका साना ठूला सबै व्यवधानबाट सजिलै गरी पार पाउने बाटाहरुका बारेमा पनि सुझबुझपूर्ण वर्णन छ । लेखक खड्काले यसअघि उत्प्रेरणादायी उपन्यास ‘निर्वाण’ प्रकाशन गरेका थिए ।