२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोटरी बुटवल चौतारीको बैठकमा योग र अध्यात्मबारे प्रशिक्षण

शनिवार , भाद्र १, २०८१

बुटवल, १ भदौ ।
रोटरी क्लब अफ बुटवल चौतारीको नियमित बैठकमा योग र प्रणायामबारे प्रशिक्षण दिइएको छ । क्लबको २१५ औं नियमित बैठकका अवसरमा योग सम्बन्धी प्रवचन दिइएको हो ।

कार्यक्रममा पथिक फाउण्डेशन रुपन्देहीका संयोजक माधव पौडेलले कुशल जीवन र यसका लागि अपनाउनुपर्ने तरिकाबारे सहजीकरण गरेका थिए ।
योगले कसरी मानिसलाई सकारात्मक मार्गमा हिंडाउन मद्दत गर्छ, मानिसको स्वास्थ्यमा कसरी आमूल परिवर्तन ल्याउँछ र जीवनमा सकारात्मक उर्जा प्रदान गर्छ भन्ने विषयमा पौडेलले प्रशिक्षित गरेका थिए ।

मानिसले आफ्नो जीवनलाई अध्यात्मसँग जोड्दै अघि बढ्नुपर्नेमा जोड दिंदै उनले भोक र रोगले सताएको व्यक्ति आध्यात्ममा लाग्न नसक्ने र धार्मिकता जस्तो सजिलो अध्यात्म नभएको बताए । व्यक्तिले आफ्नो जीवनलाई सफल बनाउनका लागि पनि आध्यात्मिक धारलाई अघि बढाउनुपर्नेमा जोड दिदै उनले यसतर्फ लाग्दा मानिसको नकारात्मक मनोभावना समेत हटेर जाने बताए ।

केडिया र क्षेत्रीलाई मानार्थ सदस्यता

रोटरी क्लब अफ बुटवल चौतारीले केडिया ग्रुप अर्गनाइजेशनका अध्यक्ष ताराचन्द्र केडिया र बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीलाई क्लबको मानार्थ सदस्यता प्रदान गरेको छ ।

दुईजनालाई मात्र मानार्थ सदस्यता प्रदान गर्न सकिने मापदण्ड बमोजिम क्लबले केडिया र क्षेत्रीलाई मानार्थ सदस्यता प्रदान गरेको हो ।
शनिबार क्लबको २१५ औं नियमित बैठकका अवसरमा दुवैजनालाई मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले जानकारी दिए ।

त्यसअवसरमा बोल्दै केडिया ग्रुप अर्गनाइजेशनका अध्यक्ष ताराचन्द्र केडियाले रोटरी क्लब अफ बुटवल चौतारी सिंगो समाजको लागि प्रेरणाको स्रोत बनोस् भनी शुभकामना दिए । उनले क्लबले समाजमा छुट्टै पहिचान कायम गर्ने विश्वास समेत व्यक्त गरे ।

अर्का मानार्थ सदस्य बुटवल–११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले निश्वार्थ भावनाका साथ क्लबले समाजका लागि गरेको योगदानको स्मरण गर्दै आगामी दिनमा सामाजिक कार्यका लागि आफूले पनि हातेमालो गरेर अगाडि बढ्ने बताए । उनले क्लबले अगाडि सारेका योजनाहरुमा आफूले पनि साथ दिन् बताए ।

पश्चिम नवलपरासीका जिल्ला न्यायाधीश हरि पंगेनीले आफूमा पनि समाजसेवा गर्ने हुटहुटी रहेको भन्दै क्लबले विभिन्न क्षेत्रमा गरेको योगदानबाट आफू पनि प्रभावित भएको बताए ।

त्यसअवसरमा अभिभावक महासंघ लुम्बिनी प्रदेशका महासचिव झविन्द्र पौडेलले क्लवले सबै वर्ग र क्षेत्रका नागरिकलाई समेटेर अगाडि बढ्नुपर्ने सुझाव दिए । 

क्लबका चार्टड प्रेसिडेन्ट विष्णु घिमिरेले यो वर्ष क्लबले २ लाख ५० हजारको अक्षयकोष स्थापना गरेको र जसबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको जानकारी गराउँदै एम्बुलेन्स खरीदको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जानकारी दिए । त्यस्तै उनले ह्वील चेअर वितरणको योजना पनि रहेको जानकारी दिए ।
क्लबका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले आफ्नो कार्यकालमा क्लबको सचिवालय भवन निर्माणदेखि एम्बुलेन्स खरीद गरी सितगंगा नगरपालिका वडा नम्बर ६ अर्घाखाँचीलाई हस्तान्तरण लगायत अन्य विभिन्न योजनाहरु अगाडि बढाइएको बताए । 

बैठकमा रोटरीयनहरु खगेन्द्र बेलबासेले पनि आफ्नो धारणा राखेका थिए । त्यसअवसरमा रोटरीको नयाँ सदस्यता लिएकाहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।