
शनिवार , भाद्र १, २०८१
काठमाडौं, १ भदौ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारबाट बाहिरिनुपरेपछि माओवादीले प्रतिगमनको हल्ला चलाएको बताएका छन् । तमु सञ्चारकर्मी संघ नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले कांग्रेस–एमाले मिल्दा प्रतिगमन हुन्छ भन्ने हल्ला चलाएर माओवादीले सरकारबाट हट्नुपर्दाको पीडा व्यक्त गरेको बताएका हुन् ।
पटकपटक सरकार परिवर्तनको प्रयोग भएपछि मुलुकमा स्थिरता कायम गर्न ठूला दुई दल मिल्नुपरेको उनले बताए ।
उनले मुलुकको परिवर्तनमा सबै दलको भूमिका महत्वपूर्ण रहेको भन्दै उपलब्धी मास्ने काम कसैले नगर्ने स्पष्ट पारे । गुरुङले कुनै दलको स्पष्ट बहुमत नआउँदा मुलुकमा देखिएको अस्थिरता अन्त्य गर्न निर्वाचन प्रणाली परिवर्तनको बहस चल्नु स्वभाविक भएको भन्दै यसका कारण कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको धारणा राखे । आवश्यकताअनुसार संविधान संशोधन गर्नुपर्दा सवैका सहमतिका साथ अघि बढ्ने उनले बताए ।
त्यस्तै मन्त्री गुरुङले संविधानमा सवैको अधिकारका कुरा रहेतापनि यसलाई व्यवहारमा लागू गर्नका लागि नीति कानून आवश्यक रहेकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने समेत बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij