२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

आठवटा आँखा उपचार केन्द्रहरुको वार्षिक समीक्षा, तीन पालिका सम्मानित

शनिवार , भाद्र १, २०८१

भैरहवा, १ भदौ ।
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल अन्तर्गतका आठवटा आँखा उपचार केन्द्रहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी शनिबार भैरहवामा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका पदाधिकारी, नेत्र ज्योति संघ रुपन्देही शाखाका सभापति कमलराज जोशी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख, उपप्रमुख, सियारी, शुद्धोधन र सम्मरीमाई गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखहरूको उपस्थिति रहेको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले जानकारी दिए ।

कार्यक्रममा मोतियाबिन्दूको शल्यक्रिया (अपरेशन) को लागि आर्थिक सहयोग र अन्धोपन निवारणको क्षेत्रमा सहयोग गरेको भन्दै सिद्धार्थनगर नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकालाई सम्मान गरेको हो । आँखा अस्पतालले ती पालिकाका जनप्रतिनिधिहरुलाई सम्मान–पत्र र दोसल्लाद्वारा सम्मान गरेको हो ।

अस्पतालका सूचना अधिकारी पाण्डेयका अनुसार कार्यक्रममा आठवटा आँखा उपचार केन्द्रका वार्षिक कार्यक्रम पेश भएको थियो । त्यस्तै आगामी दिनमा गर्नुपर्ने काम कार्ययोजना समेत तर्जुमा गरिएको थियो ।

कार्यक्रममा सम्मानित पालिकाका जनप्रतिनिधिहरूले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानले दिएको सेवाको प्रशंसा गरे । उनीहरुले आगामी दिनहरूमा पनि स्थानीय सरकाबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा अस्पतालका चिफ मेडिकल डाइरेक्टर प्राध्यापक डाक्टर ज्ञानेन्द्र लामिछानेले ईसीसीले अझै काम गर्नुपर्ने त्यसको लागि अस्पतालले गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाकी उपसभामुख मेनुका खाण  केसीले अस्पतालले गरेको कामको प्रशंसा गरिन् । उनले लुम्बिनी प्रदेश सरकारबाट हुन सक्ने सहयोग अस्पताललाई प्रदान गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

श्री रण अम्बिका शाह आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले ग्रामीण क्षेत्रका नागरिकलाई सेवा दिने अभिप्रायले आँखा उपचार केन्द्रहरुको स्थापना गरिएको बताए । उनले उपचार केन्द्रका इन्चार्जहरूलाई सेवाको मनसायले काम गर्न र स्थानीय तहबाट सो कार्यको लागि आवश्यक सहयोगको व्यवस्थाको लागि आफूले पहल गर्ने बताए ।

अस्पतालका बाह्य कार्यक्रम निर्देशक सह–प्राध्यापक डाक्टर कबिन्द्र बज्राचार्यको स्वागतमा तथा उप–व्यवस्थापक तुल्सी प्रसाद पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।