
शनिवार , भाद्र १, २०८१
भैरहवा, १ भदौ ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार अन्तर्गत कोटहीमाई गाउँपालिका–४ स्थित बैरघाटका किसान रमेश चौधरीको तीनलाख रुपैयाँ मूल्य बराबरको तरकारी र फलफूल नष्ट भएको छ । बिहीबार राती अज्ञात व्यक्तिले चौधरीले लगाएका तरकारी र फलफूल नष्ट गरेको हो ।
चौधरीले स्थानीय अशोक सिंहबाट वर्षेनी नगद तथा जिन्सी गरी २ लाख २० हजार रुपैयाँमा पोखरीसहितको २ बिघा ११ कठ्ठा कृषियोग्य जग्गा लिजमा लिई माछापालन र तरकारी खेती गर्दै आएका छन् ।
अज्ञात व्यक्तिले कुरिलो, काक्रा, मेवासहित ५२ वटा प्रकारका तरकारी र फलफूलहरूको जरा काटेर नष्ट गरेका छन् । चौधरीले बिहीबार साँझ घर फर्कदा सबै तरकारी र फलफूल ठीक अवस्थामा रहेको बताए ।
तरकारी र फलफूल नष्ट गरिएपछि किसान चिन्तित भएका छन् । ‘बिहान उठ्दा भने सबै बाली काटेर फालिएको अवस्थामा देखे । उनले भने, ‘मैले कसैको केही बिगारेको थाहा छैन, म केवल आफ्नो खेतीमा व्यस्त थिएँ । मेरो महिनौको मिहिनेत एक रातमै सखाप भएको छ ।’
ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक हिमनाथ घिमिरेले घटनाबारे छानबीन भइरहेको जानकारी दिए । उनले भने, ‘घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ । बाली नष्ट गर्ने व्यक्तिलाई कानूनको दायरामा ल्याइ कारवाही गरिनेछ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij