२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मगर युवा संघ रुपन्देहीद्वारा अस्लामी सम्मानित

आइतवार , भाद्र २, २०८१

बुटवल, २ भदौ । 
नेपाल मगर युवा संघ, रुपन्देहीले संघको चौथो राष्ट्रिय महाधिवेशनबाट महासचिवमा निर्वाचित भएका राम अस्लामी मगरलाई बुटवलमा एक कार्यक्रम गरी सम्मान गरेको छ। संघका जिल्ला अध्यक्ष हेमन्त बुढाथोकी मगरको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि मगर संघ, लुम्बिनी प्रदेशका भाषिक उपाध्यक्ष अन बहादुर सोती मगर, मगर फादर अफ हङकङ तथा अग्रज व्यक्तित्व प्रेम बहादुर गलामी मगर, रुपन्देही जिल्ला अध्यक्ष प्रेम थापा, उपाध्यक्ष थर्क बार्हघरे, मगर संघ, बुटवलका अध्यक्ष बसन्ती साठिघरे मगर, मगर महिला संघ बुटवलका सचिव आकृति थापा र एमजी क्लबका अध्यक्ष ओम सारु मगरले बधाई तथा शुभकामना दिएका थिए ।

सम्मान कार्यक्रममा बोल्दै महासचिव राम अस्लामी मगरले चौथो राष्ट्रिय महाधिवेशनमा रुपन्देही जिल्ला र लुम्बिनी प्रदेश समितिले खेलेको भूमिकाप्रति सम्मानसहित धन्यवाद प्रकट गरेका थिए । साथै सम्मान कार्यक्रममा दिएको सुझाव–सल्लाह र हौसलालाई शिरोधार्य गर्दै मगर संघले उठाएको हरेक मुद्दालाई स्थापित गर्न अझ सशक्त भएर अघि बढ्ने उनले प्रतिवद्धता गरेका थिए ।

नेपाल मगर युवा संघ, भाषा संस्कृति, पहिचान र अस्तित्व स्थापित गर्नका निम्ति अन्तिम निर्णायक लडाई लड्न युवाहरुलाई गोलबन्द गरी अघि बढाउने बताए । यही भदौमा हुने संघको पूर्ण बैठकबाट भावी नीति तथा कार्यक्रम र रणनीतिसहितको खाका आउने बताए । वर्तमान राजनीतिमा देखिएको बाछिटाप्रति मगर संघ सचेत र सजग भइ प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धीको लागि संघर्षका निम्ती युवा सदैव अग्रपंक्तिमा रहने बताए ।

कार्यक्रममा नेपाल मगर युवा संघ, रुपन्देहीका पुर्वअध्यक्ष पहल सिंह राना, मगर युवा व्यवसायी तुलजी सारु, चलचित्र संघ, रुपन्देहीका अध्यक्ष टिका आले, मगर संघका बुटवलका सक्रिय महिला उद्यमी खिमा थापा, चन्दा छन्त्याल र पत्रकार कपिल ज्ञवालीको उपस्थिति रहेको थियो । 

सोही अवसरमा नेपाल मगर युवा संघ, रुपन्देहीले मृगौलापीडित मन बहादुर थापा (केप्छाकी) मगरका निम्ती चलाएको अभियानबाट संकलित १ लाख २५ हजार रुपैयाँ उनका बुवालाई महासचिव राम अस्लामी र जिल्ला अध्यक्ष हेमन्त बुढाथोकी मगरले हस्तान्तरण गरेका थिए । दुई चरणमा भएको कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष पहल राना राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव खेम आले मगरले गरेका थिए ।