२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रधानमन्त्रीसँग भेट्न समय नपाएको बामदेव गौतमको गुनासो

आइतवार , भाद्र २, २०८१

काठमाडौं, २ भदौ ।

राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न समय नपाएको गुनासो गरेका छन् । आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै गौतमले देश र जनताका विषयमा कुरा गर्न आफुले प्रधानमन्त्रीसँग भेट गर्न खोजे पनि समय नपाएको गुनासो गरेका हुन् । 

सरकारका प्रमुखसँग कुरा गर्दा हुुने विषयमा प्रधानमन्त्रीसँग भेट गर्न समय नपाएकाले राष्ट्रिय सभालाई गुहारेर धारणा राखेको उनले बताए । पूर्व गृहमन्त्री समेत रहेका गौतमले नेपालको भौगोलिक बनावटका कारण प्राकृतिक प्रकोपका घटनाहरु धेरै हुने गरेको उल्लेख गरे । प्राकृतिक प्रकोपका घटना घट्नुभन्दा पहिले नै गर्नुपर्ने काममा विषयमा नेपालका राजनीतिक दलका नेताहरुको ध्यान जान नसकेको उनले बताए ।

उनले स्थायी रुपमा पहिरोबाट हुने क्षति रोक्न जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउनका लागि इजरायलको प्रविधि भित्राउनुपर्नेमा जोड दिए । गौतमले यसका लागि तत्कालै परराष्ट्रमन्त्री वा प्रधानमन्त्रीले इजरायलका राजदूतसँग छलफल सुरु गर्नुपर्ने सुझाव दिए ।

उनले नेपाली जनताको सुरक्षाका साथै विकास र समृद्धिका लागि पनि उक्त प्रविधि आवश्यक रहेको उल्लेख गरे ।