२०८३, आषाढ ३१ गते

Jul 15 2026 | २०८३, आषाढ ३१ गते

डेंगी फैलन नदिन सतर्कता अपनाउन आग्रह

आइतवार , भाद्र २, २०८१

  • 745
    Shares
  • 745
    Shares
  • भैरहवा, २ भदौ । 
    वर्षायामसँगैं डेंगी रोगका बिरामीको संख्या बढेको भन्दै रुपन्देहीमा त्यसको नियन्त्रण र रोकथाममा सरोकारवाला पक्षले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले डेंगी फैलन नदिन सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अगुवाइ र स्वास्थ्य कार्यालय रुपन्देहीको समन्वयमा आइतबार भैरहवामा आयोजित डेंगी सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा डेंगी सार्ने लामखुट्टेको खोज र नष्ट गर भन्ने अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिइएको हो । 

    रुपन्देहीका स्थानीय सरकारका प्रमुखसहित स्वास्थ्य शाखा प्रमुख, सरकारी तथा निजी अस्पतालका मेडिकल सुपरीटेण्डेण्टसहित मेडिकल रेकर्ड अधिकृत, सुरक्षा निकायका प्रमुख सहभागी भएको कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले डेंगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए ।
    उनले डेंगी सार्ने लामखुट्टे बस्ने टायर तथा पानी जम्ने वस्तु हटाउनका लागि स्थानीय पालिकासहित सबैले आ–आफ्नो क्षेत्रबाट काम थाल्नुपर्नेमा जोड दिए ।

    सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले डेंगीको जाँचको मूल्य स्वास्थ्य संस्थापिच्छे फरक हुने गरेको भन्दै एकरुपता ल्याउन आग्रह गरे । 

    स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालले डेंगीको भाइरसबाट संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्ने बताए । उनले मुख्य गरी जमेको पानीमा त्यस्ता लामखुट्टेले फुल पार्ने र त्यसबाट हुर्किएका लामखुट्टेको टोकाइबाट डेंगीको संक्रमण हुने भएकाले लामो समयसम्म पानी जम्न दिन नहुने बताए ।