२०८३, श्रावण २ गते

Jul 18 2026 | २०८३, श्रावण २ गते

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन सत्ता साझेदार दलको ह्वीप

सोमवार , भाद्र ३, २०८१

  • 892
    Shares
  • 892
    Shares
  • भैरहवा, ३ भदौ । 
    लुम्बिनी प्रदेशमा सत्तारुढ नेकपा (एमाले), नेपाली कांग्रेससहितका सत्ता साझेदार साना दलहरूले मुख्यमन्त्री चेत नारायण आचार्यलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन् । प्रदेश सभाको चौथो अधिवेशनको २५ औं बैठकमा मंगलबार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यक्रम तय भएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार भदौ ४ गते मंगलवार दिउँसो २ बजे प्रदेश सभामा आचार्यले विश्वासको मत लिन लागेका हुन् ।

    गत साउन ७ गते आचार्य कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५ अन्य साना दलहरूले सरकारलाई समर्थन गर्ने जनाइसकेका छन् । ११ दल क्रियाशील रहेको प्रदेशमा ८७ सांसद रहेकोमा बहुमतको लागि ४४ सांसद संख्या आवश्यक पर्छ ।

    एमाले संसदीय दलका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीका अनुसार मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्न एमालेका सबै सांसदलाई ह्वीप जारी गरिसकिएको छ । शनिबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय भएको हो ।

    त्यस्तै कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले पनि विश्वासको मतको पक्षमा मतदान गर्न उपस्थित हुन सबै सांसदलाई ह्वीप जारी गरेका छन् ।
    त्यसै गरी सरकारलाई समर्थन गरेका जनमत पार्टीका दल नेता चन्द्रकेश (सि.के.) गुप्ता, लोकतान्त्रिक समाजवादी पाटी, नेपाल (लोसपा) का नेता सन्तोष कुमार पाण्डेयले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने सांसदलाई ह्वीप जारी गरिएको जानकारी दिए ।

    दुवै दलका ३–३ सांसद छन् । सरकारलाई जसपा २, जसपा नेपाल १ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् । लुम्बिनी प्रदेश सभामा विपक्षमा नेकपा (माओवादी केन्द्र) का १०, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा राजमो र स्वतन्त्र १÷१ गरी १३ सदस्य रहेका छन् ।

    मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने जनाएका छन् । अहिले एमालेबाट मुख्यमन्त्रीसहित ५, कांग्रेसबाट ४ जना मन्त्री  छन् । १२ सदस्यीय मन्त्रीमण्डलमा ३ मन्त्री चयन हुन बाँकी छ ।