
सोमवार , भाद्र ३, २०८१
भैरहवा, ३ भदौ ।
लियो क्लब अफ सिद्धार्थनगर युथले बालगृहमा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले रक्षा बन्धनको अवसर पारेर लुम्बिनीरोडस्थित सिद्धार्थ बालगृहमा उक्त सामग्री वितरण गरेको वर्ष २०२४–०२५ का अध्यक्ष सौरभ लाभले बताए । अध्यक्ष लाभका अनुसार क्लबले प्रत्येक वर्ष रक्षा बन्धनको अवसर पारेर बाल गृहमा कार्यक्रम गर्दै आएको छ ।
क्लबले आइतबार खाद्यान्न तथा शैक्षिक सामग्री बालगृहकी सञ्चालक कृष्णमाया गुरुङलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लियो जिल्ला परिषद ३२५ पी, नेपाल एरिया–२ का एरिया चिफ मनिष ढकालले लियो क्लब अफ सिद्धार्थनगर युथले रचनात्मक कार्य गर्दै आएको बताए । उनले क्लबले बालगृहमा कार्यक्रम गर्नु सराहनीय रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे । उनले भने, ‘म दोस्रोपटक प्रमुख अतिथिको रुपमा यो क्लबले आयोजना गरेको कार्यक्रममा उपस्थिति भएको छु । ’
क्लबकी निवर्तमान अध्यक्ष तथा रिजन–६ चेयरपर्सन सेजल मल्लिकले विगत ७ वर्षदेखि क्लबले बाल गृहमा विभिन्न कार्यक्रम गर्दै आएको बताइन् ।
त्यस्तै लियो क्लब अफ सिद्धार्थनगर युथका पूर्वअध्यक्ष शिव मौर्यले क्लबको स्थापनादेखि नै बालगृहमा रक्षाबन्धन कार्यक्रम गर्दै आएको जानकारी दिए ।
बालगृहकी सञ्चालक कृष्णमाया गुरुङले आगामी दिनमा पनि क्लबको सहयोगको अपेक्षा राखेको बताइन् । उनले लियो क्लब अफ सिद्धार्थनगर युथ अघि सशक्त रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रम संयोजक आस्था बज्राचार्यको स्वागत तथा लियो सिद्धार्थनगर युथका सचिव आदर्श कुमार पण्डितको सञ्चालनमा भएको कार्यक्रममा सदीक्षा बुढाथोकी, विनोद खनाल लगायतले बोलेका थिए ।
कार्यक्रममा नयाँ सदस्यहरुलाई स्वागत गरिएको क्लबका सह-कोषाध्यक्ष अभिनव अग्रवालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij