२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

मंगलवार , भाद्र ४, २०८१

भैरहवा, ४ भदौ । 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार (आज) विश्वासको मत लिँदैछन् । गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले आज बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिँदैछन् । चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन थालेका हुन् । 

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार मंगलबार दिउँसो १ बजे लुम्बिनी प्रदेश सभा बैठकमा आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।

नेकपा (एमाले) का २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जना प्रदेश सभा सदस्यहरुको समर्थनमा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले विश्वासको मत पाउने पक्का छ । ८७ सांसद रहेको लुम्बिनी प्रदेश सभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ ।

एमाले–कांग्रेसबाहेक उनलाई साना राजनीतिक दलले समेत विश्वासको मत दिने बताइसकेका छन् । एमाले प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले प्रदेश सभामा रहेका बढी भन्दा बढी राजनीतिक दल र सांसदको समर्थन जुटाउने गरी तयारी रहेको बताए ।

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेसहित साना दलले ह्वीप जारी गरेका छन् । एमालेले विश्वासको मत दिन सांसदहरुलाई ह्वीप लगाएको प्रमुख सचेतक चौधरीले बताए ।

त्यस्तै कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पनि विश्वासको मतको पक्षमा मतदान गर्न उपस्थित हुन सबै सांसदलाई ह्वीप लगएाका छन् ।
सरकारलाई समर्थन गरेका जनमत पार्टीको दल नेता चन्द्रकेश (सि.के.) गुप्ता र लोकतान्त्रिक समाजवादी पाटी नेपाल (लोसपा) का दल नेता सन्तोष कुमार पाण्डेयले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने र सांसदलाई हृवीप जारी गरेको बताए ।

प्रदेश सभामा सहभागी ११ वटा राजनीतिक दलमध्ये जनता समाजवादी पार्टी (जसपा) का २, जसपा नेपालका १ र नागरिक उन्मुक्ति पार्टीका ४ जना सांसदले समर्थन गरेका छन् ।