२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीमा सूचनाको हक सम्बन्धी दुईदिने तालिम सम्पन्न

मंगलवार , भाद्र ४, २०८१

भैरहवा, ४ भदौ ।
सूचनाको हक सम्बन्धि अभियानकर्ताका लागि दुईदिने तालिम रूपन्देहीको बुटवलमा सम्पन्न भएको छ । सूचनाको हक सम्बन्धी क्षेत्रमा क्रियाशील तथा अभिरुचि राख्ने २४ जना अभियानकर्मीहरूको सहभागितामा सम्पन्न सो तालिम सामुदायिक सारथीको आयोजना तथा युएसएड/द एसिया फाउण्डेशनको सहयोगमा सञ्चालन भएको हो  ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले आयोगको गठन, कामकाज, र अधिकार क्षेत्रका बारेमा जानकारी गराएका थिए । आयोगले हालसम्म गरेको महत्वपूर्ण निर्णय र सूचना शक्तिका बारेमा प्रकाश पारेका थिए ।

प्रशिक्षक तारा बहादुर भण्डारीले सूचनाको हक, यसको सिद्वान्त, सार्वजनिक निकाय, सूचनाको वर्गीकरण, कानूनी प्रावधान र सूचना अधिकारीको जिम्मेवारी तथा काम, कर्तव्य र अधिकार जस्ता विषयमा विस्तृत प्रशिक्षण दिएका थिए । उनले सूचना माग्ने तरिका, उजुरीको प्रक्रिया र सूचनाबाट उत्पादन शक्तिको महत्व पनि दर्शाएका थिए ।

त्यसै गरी प्रशिक्षक कर्ण बहादुर नेपालीले वकालत, सहकार्य, सशक्तिकरण, सूचनाको दुरुपयोग, जरिवाना र कार्ययोजना लगायतका विषयमा जानकारी दिएका थिए । अर्का प्रशिक्षक लुनिभा तुलाधरले सूचना मागको पूर्व कार्ययोजना, सशक्तिकरणका उपाय, व्यक्तिगत पहिचान खोज्ने तरिका र महत्वका बारेमा बताएकी थिइन् ।

तालिममा सहभागीहरुले तालिम पश्चात कम्तिमा पनि एक÷एक वटा सूचना माग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा राम विकास चौधरीको अध्यक्षतामा ११ सदस्यीय सूचनाको हकका लागि जिल्ला कार्यसमिति समेत चयन गरिएको छ । कार्य समितिको उपाध्यक्षमा संजय कुमार मिश्र, सचिवमा अग्नि शक्ति यादव, सह–सचिवमा माया के.सी. र कोषाध्यक्षमा विजया खत्री रहेका छन् । त्यसै गरी सल्लाहकारमा महेन्द्र थापालाई चयन गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।

ee4e3d27-e463-4dde-8c2f-8fe29a145b46.jpeg