२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भलाई कोषसँग बुटवल हस्पिटल प्रा.लि.को उपचार सम्झौता

मंगलवार , भाद्र ४, २०८१

बुटवल, ४ भदौ । 
रुपन्देहीको बुटवलमा रहेको यातायात मजदुर तथा व्यवसायी भलाई कोषसँग आबद्ध रहेको सदस्यहरुको उपचार अब बुटवल हस्पिटल प्रा.लि.मा हुने भएको छ । विगत २४ वर्षदेखि निरन्तर स्वास्थ्य उपचारमा स्थापित बुटवल हस्पिटलले भलाई कोषमा आबद्ध रहेका सदस्यहरु, कोषका कर्मचारी, व्यवासयी तथा मजदुरहरुका लागि विशेष छुटसहित उपचार गर्ने गरी आइतबार सम्झौता गरेको हो । 

भौतिक पूर्वाधार, अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको संयोजन गरी नमूना अस्पतालका रुपमा अघि बढेको बुटवल हस्पिटलले अब भलाई कोषसँगको सहकार्यमा उपचार प्रक्रिया अघि बढाउने जनाएको छ । भलाई कोषमा अहिले करिब ४ हजार सवारीसाधनहरुको आबद्धता छ । जसमा सरकारी तथा निजी सवारीसाधनहरु छन् । सम्झौतापछि भलाई कोषको सिफारिसमा बुटवल हस्पिटलले बिरामीको उपचार गर्नेछ । त्यसरी संस्थागत सिफारिसमा आउने बिरामीहरुका लागि हस्पिटलले विशेष छुटसहित उपचार गर्ने गरी लिखित सम्झौता भएको हो ।

सम्झौता–पत्रमा बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद शर्मा पौडेल, विक्रम खड्का र सुमन तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । त्यस्तै कोषकातर्फबाट अध्यक्ष दिनेश फुल्लेल, उपाध्यक्ष छविलाल थापा, महासचिव योग गुरुङ, सचिव वृजेश न्यौपाने, कोषाध्यक्ष प्रकाश कुमार नेपाल र कार्यालय प्रमुख थानेश्वर बस्यालले हस्ताक्षर गरेका छन् ।

दुईपक्षीय सम्झौतासँगै बिरामीहरुको उपचारका लागि सहजता मिल्ने बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष पौडेलले बताए । उनले छिटोछरितो र सर्वसुलभ ढंगले उपचार गर्ने गरी बुटवल हस्पिटलले प्रबन्ध गरेको बताए । उनले भने, ‘अबका दिनमा यहाँका बिरामीहरु उपचारका लागि राजधानी काठमाडौंदेखि भारतीय शहरहरुमा जानुपर्ने अवस्थामा कमी ल्याउने हाम्रो उद्देश्य छ । अहिले पनि धेरै बिरामीहरु भातीय शहरहरुमा जाने र ठुलो धनराशी खर्च गर्ने अवस्था छ, हामीले त्यसलाई रोक्ने र गुणस्तरीय सेवा दिने विषयमा लाग्नुपर्छ ।’ 

सम्झौता–पत्रमा हस्ताक्षर गर्दै भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलले यस क्षेत्रमै नमूना अस्पताल बनेको भन्दै यहाँको सेवासुविधाले बिरामीहरुलाई काठमाडौं पढाउन नपर्ने बताए । उनले भने, ‘बुटवलमा बल्ल अस्पताल जस्तो बनेको छ, अब यहाँका बिरामीलाई महंगो शुल्क तिरेर काठमाडौं वा भारत पठाउनुपर्दैन, सर्वसुलभ तथा छिटोछरितो उपचार पाउनका लागि बुटवल हस्पिटल हाम्रा लागि आवश्यक छ ।’ 

बुटवल हस्पिटल प्रा.लि.भर्खरै आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । झण्डै ३ दर्जन विशेषज्ञ चिकित्सकहरुसहित २ सय भन्दा बढी कर्मचारीहरुको संलग्नतामा बुटवल हस्पिटलले अत्याधुनिक प्रविधिका उपकरणहरुको प्रयोगमार्फत सेवा दिइरहेको छ । जहाँ सबैखालका बिराहरुको उपचार सेवा रहेको अस्पतालले जनाएको छ ।