
मंगलवार , भाद्र ४, २०८१
भैरहवा, ४ भदौ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले बनेको सत्ता गठबन्धन पूरा कार्यकाल टिक्ने दावी गरेका छन् । उनले वर्तमान सत्ता गठबन्धन साढे ३ वर्ष नै चल्ने र त्यसबीचमा कुनै उलथपुथल नहुने दावी गरे ।
महामन्त्री थापाले वर्तमान सरकारले संविधान संशोधन गरेर मुलुकलाई सही रुपमा निकास दिने समेत बताए । उनले संविधान गतिशिल दस्तावेज भएकाले समयको आवश्यकता अनुसार संशोधन गर्दै जानुपर्ने उल्लेख गर्दै संविधान संशोधनपछि मुलुकले थप विकास गर्दै जाने बताए ।
कांग्रेस रुपन्देहीले लुम्बिनीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धन सरकारले मुलुकमा देखिएका समस्या समाधानमा केन्द्रित भएर जनताको काम गर्ने पनि बताए ।
उनले कांग्रेस र एमाले निश्चित उद्देश्य पुरा गर्नका लागि सरकार बनाएकाले त्यसलाई पूरा गर्ने बताए । उनले कांग्रेस र एमालेको संयुक्त सरकार यसअघि पनि पटकपटक निर्माण भइ मुलुक र जनताको हितमा काम गरेका कारण यसपटक पनि जुन उद्देश्यले निर्माण भएको हो त्यो पूरा गरेरै छाड्ने बताए ।
महामन्त्री थापाले कांग्रेस रुपन्देहीले सुरु गरेको प्रशिक्षणको कार्यक्रम अब देशभर नै सुरु हु्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरत कुमार शाहले पार्टीलाई एकताबद्ध बनाएर अब अघि बढाउनुको विकल्प नभएको बताए ।
कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जनप्रतिनिधिहरु जनता भन्दा ठूलो हुँ भन्ने भावना राख्न नहुने बताए ।
कांग्रेसका रुपन्देही सभापति रामकृष्ण खाणले प्रशिक्षण कार्यक्रमले पार्टीलाई अझै बलियो र गतिशिल बनाउने बताए ।
तीन दिनसम्म चल्ने कार्यक्रममा गोविन्द पोखरेल, सुरेश आचार्य, छन्द्रकुमार पहराई र उमेश श्रेष्ठले परीक्षण दिनेछन् भने कार्यक्रमको समापनको लागि पार्टी उपसभापति पूर्ण बहादुर खड्का आउने कार्यक्रम छ ।
उद्घाटन सत्र कार्यक्रम प्रशिक्षण विभाग प्रमुख अनिता शाहको अध्यक्षता तथा कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्यालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij