
बुधवार , भाद्र ५, २०८१
काठमाडाैं, ५ भदाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार मन्त्रालय र केन्द्रबीच सो सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका थिए । अस्पतालमा खेर गैरहेका उपकरण मर्मत गर्नका लागि सघाउन मन्त्री पौडेलले केही दिन अघि पुनसँग आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले केन्द्रसँग औपचारिक सम्झौता गरेको हो । सो क्रममा मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गरे । केन्द्रको सहयोगमा राज्यको खेर गैरहेको सम्पतीको उपयोगबाट बिरामी पनि लाभान्वित हुने र उपकरण खरिदका लागि हुने खर्चसमेत कम हुने धारणा राखे ।
केन्द्र प्रमुख पुनले राज्यले आफूहरुलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै खुशी प्रकट गरे । उनले यसले आफूहरुलाई हौसला दिएको भन्दै मन्त्री पौडेललाई धन्यवाद दिए ।
अब केन्द्रले हाल मन्त्रालयअन्र्तगतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ । त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गर्ने बताइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij