२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राष्ट्रिय मुद्दामा दलहरुबीच न्यूनतम सहमति कायम गर्नुपर्छ : श्रेष्ठ

बिहिवार , भाद्र ६, २०८१


 काठमाडौं, ६ भदौ ।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय मुद्दामा दलहरुबीच न्यूनतम सहमति कायम गर्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा संक्रमणकालिन न्यायसँगसम्बन्धित विधयेकको छलफलमा भाग लिदै श्रेष्ठले सरकारमा रहदा वा नरहदा विरोध वा समर्थन गर्ने नभइ कम्तिमा राष्ट्रिय मुद्दामा दलहरुबीच न्यूनतम सहमति कायम गर्नुपर्ने बताएका हुन् ।

उनले अहिलेको मुलुकको ऐतिहासिक आवश्यकतामा सबै दलहरु गहन हुनुपर्नेमा जोड दिए । श्रेष्ठले लोकतन्त्र, सामाजिक आर्थिक रुपान्तरण र शान्तिका लागि गम्भीर हुनुपर्ने भन्दै यसमा आफू अनुकुलको व्याख्या र व्यवहार गर्न नहुने जिकिर गरे । वास्तविक रुपमा जनताले लोकतन्त्रको महसुस गर्न नसके देश अघि बढ्न नसक्ने भएकाले यसका लागि दलहरुले अगुवाई गर्नुपर्ने उनले बताए ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले लोकतन्त्र र शान्तिको लाभ जनतालाई दिन सके शान्ति लामो समयसम्म कायम हुन सक्ने उल्लेख गरे ।

उनले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषय टुंगिन लामो समय लाग्नु स्वभाविक नरहेको भन्दै अब पीडित र सरोकारवाहरुको आवाजलाई सम्बोधन गर्ने गरी सर्वस्वीकार्यताका साथ अघि बढ्नुपर्ने धारणा राखे । आफ्नै माटोमा जन्मिएको शान्ति प्रक्रियालाई अब सबै मिलेर निष्कर्षमा पुर्याउनुपर्ने उनको भनाइ छ ।