
शुक्रवार , भाद्र ७, २०८१
भैरहवा । भैरहवामा नक्कली छोरी बनेर करोडौं घरजग्गा हत्याउने प्रयास गरेको आरोप लगाईएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का लालजित र सन्त मल्लाहले मालती मल्लाहीन र रिखिदेवी मल्लाह अग्रवाल नक्कली छोरी बनेर करोडौंको घर जग्गा हत्याउने प्रयास गरेको आरोप लगाएका हुन् ।
सिनपा ६ का सुखु मल्लाहको नक्कली छोरी बनेर उनीहरुले रुपन्देही सिद्धार्थनगर, सियारी गाउँपालिका र ओमसतिया गाउँपालिकाको बिभिन्न स्थानमा रहेको घर जग्गा हतयाउने प्रयास गरेको भैरहवामा पत्रकार सम्मेलन गरि आरोप लगाएका हुन् ।
सुखु मल्लाह निसन्तान हुन् । निसन्तान सुखुको मृत्युपछि अदालतको फैसलाबाट उनको सम्पत्ती दाई फौदार मल्लाहका छोराहरु लालजित र सन्त मल्लाहको नाममा गएको थियो । तर, जनप्रतिनिधि र स्थानिय प्रशासनको मिलेमतोमा फरक ठाउँमा सर्जमिन गराई भारतीय नागरिक बदल मल्लाहका छोरीहरु मालती मल्लाहीन र रिखिदेवी मल्लाह अग्रवालले सम्पत्ती हत्याउन खोजेको पत्रकार सम्मेलन गरी लालजित र सन्तले आरोप लगाए ।
लालजित र सन्त मल्लाहका बुवाहरु दुई भाई हुन् । लालजित र सन्तका बुवा फौदार हुन भने काका सुखु मल्लाह । फौदारका दुई छोरा र ५ छोरी छन् । तर, काका सुखु र काकी कवुतरीका कोखबाट सन्तान भएनन् । उनीहरुका बुवा फौदारको २०७७ जेठ ८ र आमा झिनाको भने १० वर्ष अघि नै मृत्यु भइसकेको छ । काका सुखुको २०७८ असार १७ र काकी कपुतरी मल्लाहको २०७७ माघ १० मृत्यु भएको थियो ।
सन्तान नभएकाले सुखु र कपुतरीको सहारा लालजित र सन्त बनेका थिए । ‘दुखबिरामी हुँदा, औषधी उपचारदेखि मृत्युपछिका सम्पूर्ण संस्कार हामी दुइभाइले गरेका हौं’, भैरहवामा पत्रकार सम्मेलन गर्दै सन्तले भने, ‘बुवाआमा र काकाकाकी बाचुञ्जेल कसैको दावी थिएन । तर, मृत्युपछि एकाएक मालती र रिखीदेवी छोरी बनेर सम्पत्त्री खान लागे ।’
बुवाआमा र काकाकाकीको मृत्युपछि लालजित र सन्तले निसन्तान भएको भन्दै काकाको नाममा रहेको जायजेथा आफूहरुका नाममा लिनका लागि रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरे । अदालतले २०७८ कार्तिक १५ गते फौदार र सुखुको नाममा रहेको जमिन लालजित र सन्तको नाममा जाने फैसला ग¥यो । अंशबण्डा गरेर उनीहरुले सबै जायजेथा दुइभाइका नाममा गराए । ‘त्यसपछि एकाएक २०७८ फागुन १० गते हाम्रो घरमा अंश मुद्दा परेको भन्दै जिल्ला अदालत, रुपन्देहीले म्याद पठायो । म्याद बुझेर हामी अदालत गयौं ।
यसपछि बल्ल थाहा भयो, काका सुखुको छोरी बनेर अंशका लागि सिद्धार्थनगर–८ की रिखीदेवी मल्लाह अग्रवाल र मायादेवी गाउँपालिका–३ की मालती मल्लाहले मुद्दा हालेका हुन,’सन्तले भने, ‘जबकि काका सुखुको सन्तानै जन्मिएका थिएनन् । एकाएक अर्कै दुई महिलाले अदालतमा अंश मुद्दा दायर गरे पछि हामी अन्यायमा प¥यौँ र अदालत र प्रशासन धाउन थाल्यौं ।’
अंश मुद्दा हाल्ने रिखीदेवी र मालतीले सुखुको दुई श्रीमती रहेको दावी गरेका थिए । रिखीदेवीले सुखुको पहिलो श्रीमती कपुतरी र मालतीले दोस्रो श्रीमती फूलझरी मल्लाहको छोरी भएको दावी गरेका थिए ।
अदालतमा मुद्दा परेपछि लालजित र सन्तले जिल्ला प्रशासनमा मालती र रिखीदेवीको नागरिकता खारेजी माग गर्दै मुद्दा दिएका थिए । तर, प्रशासनले जाँचबुझ नगरेको लालजितको आरोप छ । ‘पहिला पनि सर्जमिन भएको रहेछ, पीडितहरुले पुनः तामेली जगाउन भन्दै निवेदन दिनुभयो, यसबारे हामीले बुझ्यौं र दर्ता ग¥यौँ’, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘त्यसपछि पुनः प्रहरीमार्फत वडा कार्यालयमा गएर सम्बन्धित ठाउँमा सर्जमिन गरेर आएको छ । अहिले अनुसन्धान हुँदैछ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij