
शनिवार , भाद्र ८, २०८१
अच्छिता श्रीवास्तव (दिक्षा) रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्ध वर्ष २०२३/०२४ को अध्यक्ष हुन् । प्रस्तुत छ उनै श्रीवास्तवसँग खबरपात्रोले गरेको कुराकानीको सम्पादित अशं :
तपाई रोट्रयाक्ट क्लबमा कहिलेदेखि लाग्नुभयो ? क्लबमा लाग्ने गर्ने प्रेरणा कसले दियो ?
म रोट्रयाक्ट क्लबमा वर्ष २०२१÷०२२ मा प्रवेश गरेको हुँ । अझ भनौ मेरो रोट्रयाक्ट क्लबको यात्रा रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धबाट सुरु भएको हो । म यो क्लबको संस्थापक सदस्य हुँ । मलाई क्लबमा लाग्न क्लबका संस्थापक अध्यक्ष कपिल चापागाईंले प्रेरणा दिनुभयो । उहाँकै प्रेरणाले म यो क्लबमा लागेको हुँ ।
रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धको वर्ष २०२३/०२४ को अध्यक्षको कार्यकाल सम्हाल्नुभयो । यो कार्यकालमा के–के काम गर्नुभयो ?
मेरो कार्यकालमा विभिन्न कार्यक्रमहरु भए । रेबिजविरुद्ध सचेतना कार्यक्रम, सियारी, रोहिणी र मायादेवी गाउँपालिकामा करिब २ सय कुकुरलाई रेबिजविरुद्धको खोप लगायौं । भैरहवामा रोटरी क्लबहरुको आयोजनामा हाफ म्याराथन भएको थियो । त्यो कार्यक्रमको हामीले संयोजन गरेका थियौं । रोट्रयाक्ट क्बल अफ भैरहवाले डिष्ट्रिक ३२९२ अन्तर्गत फस्ट प्रेसिडेन्ट–सेक्रकेटरी (पीएस) मिट भैरहवामा आयोजना गरेको थियो । त्यो कार्यक्रमको संयोजन पनि हामीले गरेका थियौं । त्यस्तै छठ पर्र्वमा छठ पोखरी स्थलमा पुगेर चिया, बिस्कुट वितरण, पोलियोविरुद्ध शान्ति ¥यालीलगायत कार्यक्रम गरेका छौं । क्लबमा आबद्ध सदस्यहरुलाई आकस्मिक अवस्थामा रक्तदान गर्न पठाएका छौं । रक्तदान कार्यक्रम दुईपटक गरेका छौं ।
काम गर्ने क्रममा के कस्ता चुनौति आए ? समय व्यवस्थापन कसरी गर्नुभयो ?
अध्यक्षको जिम्मेवारी सम्हालेपछि कतिले मैले यो कार्यकाल कसरी लैजान सक्छु भनेर शंका पनि गरे । केही व्यक्तित्वले मलाई स्वंय नै प्रश्न गर्नुभयो–अध्यक्षको जिम्मेवारी सम्हाल्न सक्छौं ? महिलाले काम गर्न सक्दैनन् भन्ने सोचबाट माथि उठ्नुपर्छ । महिलाले अवसर पाए काम गर्न सक्छन् भन्ने कुरा बुझ्न आवश्यक छ । अध्यक्षको रुपमा जिम्मेवारी सम्हालेपछि केही चुनौति अवश्य नै रहे । समय व्यवस्थापन गर्न पनि केही समस्या भयो । कोशिष गर्नेहरुले हार मान्नुहुँदैन । म निरन्तर आफ्नो कर्तव्यमा लागिपरे । अगाडि आएका सम्पूर्ण चुनौतीको सामना गर्दै आफ्नो कार्यकाल पूरा गरे । समग्रमा मेरो कार्यकाल सफल भए जस्तो मलाई लाग्छ ।
रोट्रयाक्ट क्लबमा किन आबद्ध हुने ?
नेतृत्वसीप र व्यक्तित्वको विकास गर्न रोट्रयाक्ट क्लबमा आबद्ध हुनुपर्छ । क्लबमा आबद्ध भइसकेपछि जीवनमा कसरी बढ्ने सिक्न सकिन्छ । आफू र आफ्नो टीमलाई कसरी अघि बढाउने सिक्न सकिन्छ ।
रोट्याक्ट क्लबले के–के काम गर्छ ?
सर्वप्रथम त रोट्याक्ट क्लबले आफ्ना सदस्यहरुको व्यक्तित्व र नेतृत्वसीप विकासमा जोड दिन्छ । त्यस्तै क्लबले थुप्रै सामाजिक काम गर्छ । आफू भन्दा कम भाग्यशाली मद्दत गर्छ । समाजको विकासमा क्लबको भूमिका महत्वपूर्ण छ ।
केही सामाजिक संघ–संस्थामा पछिल्लो समय विकृतिहरु पनि देखा परेका छन् भन्ने गुनासो छ नी ?
त्यस्तो विकृति छैन जस्तो लाग्छ । समाजमा धेरैप्रकारका मान्छे हुन्छन् । कुनै संस्थामा एकजनाले गल्ती गर्यो भन्दैमा सबैलाई दोष दिन मिल्दैन ।
अब यहाँले आफ्नो जिम्मेवारी वर्ष २०२४÷०२५ का नयाँ अध्यक्षलाई हस्तान्तरण गर्दै हुनुहुन्छ । अब मेरो जिम्मेवारी सकियो भन्नुहुन्छ कि निवर्तमान अध्यक्ष हुँदा सहयोग गर्नुहुन्छ ?
सहयोग गर्छु । जसरी मलाई मेरो कार्यकालमा साथ र सहयोग गर्नुभयो । त्यसरी नै मैले नयाँ अध्यक्षलाई सहयोग गर्छु ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
महिला–पुरुष दुवैलाई समान दृष्टिकोणले हेर्नुपर्छ । महिलाले नेतृत्व लिन तयार छु भनेपछि सहयोग गर्नुपर्छ । खुट्टा तान्ने प्रवृत्ति ठीक होइन । विशेष गरी आफ्नो सन्तानलाई अघि बढाउन उसको परिवारको साथ र सहयोग महत्वपूर्ण हुन्छ । मलाई अगाडि बढाउन विशेष गरी मेरा आमा नन्दनी श्रीवास्तवले एकदमै सहयोग गर्नुभयो । उहाँलाई मैले जति धन्यवाद दिए पनि कमै हुन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij