२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मिलन आमा समूहद्वारा जेष्ठ नागरिक सम्मान

शनिवार , भाद्र ८, २०८१

भैरहवा, ८ भदौ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ टिकुलीगढ, देवीनगरमा अवस्थित श्री मिलन आमा समूहले जेष्ठ नागरिक सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । २०५२ सालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता भइ सञ्चालन हुँदै आएको उक्त आमा समूहले वार्षिक कार्ययोजनाअनुसार शुक्रबार जेष्ठ नागरिक सम्मान तथा भेटघाट कार्यक्रम गरेको समूहकी सचिव तारा बलाल मगरले बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा–१४ का वडाअध्यक्ष आश्विन पौडेलले मिलन आमा समूहले समाजमा गरेको योगदानको जति नै प्रशंसा गरे पनि कमै हुने बताए । उनले यो समूह लुम्बिनी प्रदेशकै उदाहरणीय आमा समूह भएको दावी गरे । अध्यक्ष पौडेलले समाजमा आइपरेका जस्तोसुकै समस्यालाई समाधान गर्न आमा समूहले खेलेको भूमिकालाई वडा कार्यालय र नगरपालिकाले आगामी दिनमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै निवर्तमान वडाअध्यक्ष सोहन प्रसाद थारुले मिलन आमा समूहले राज्यले गर्नुपर्ने दायित्वलाई पूरा गरेको उल्लेख गरे । उनले समाजलाई रुपान्तरण गर्न आमाहरुले खेलेको सकारात्मक भूमिका सदैव स्मरणीय रहने बताए ।

संजीवनी युवा क्लब देवीनगरका अध्यक्ष अर्जुन क्षेत्री (हापु) ले मिलन आमा समूहले सामाजिक कार्य गर्न पुरुष नै अग्रसर हुनुपर्छ भन्ने मान्यतालाई तोडेको बताए । उनले आगामी दिनमा आमा समूहसँग क्लबले सामाजिक कार्यमा सहकार्य गर्दै जाने बताए । 

मिलन आमा समूहकी अध्यक्ष चन्द्रकला छन्तेल मगरको अध्यक्षता, उपाध्यक्ष नरमाया बलाल मगरको सवागत तथा सचिव तारा बलाल मगरको सञ्चालनमा भएको कार्यक्रममा नेपाल मगर संघ तिलोत्तमा–१४ का अध्यक्ष बल बहादुर राना, सल्लाहकार दुर्गा बहादुर छन्तेल, टोल विकास समितिका अध्यक्ष दल बहादुर बलाल, जेष्ठ नागरिक झोजन सिंह थापा, देव बहादुर बगाले, होम बहादुर बुढा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

उक्त अवसरमा सञ्चारकर्मी अरुण ज्ञवाली लगायत विभिन्न व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो ।