२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपालमा दुई पार्टी सिस्टम आउने कुनै सम्भावना छैन : झलनाथ खनाल

आइतवार , भाद्र ९, २०८१

काठमाडौं, ९ भदौ । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई पार्टी सिस्टम आउने सम्भावना नरहेको बताएका छन् ।

काँग्रेस–एमाले नेतृत्वको सत्तारुढ गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै उनीहरुले नेपालमा दुई पार्टी सिस्टम ल्याउने धृष्टता गरेपनि त्यो सम्भव नहुने जिकिर गरेका हुन् । आईतवार काठमाडौंमा आयोजित पार्टी केन्द्रिय सदस्यहरुको शपथग्रहण कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले दुई ठूलो पार्टीको नेपालमा दुई पार्टी सिस्टम ल्याउने कुरा कल्पनामा मात्रै सिमित हुने दाबी समेत गरे ।

कमसेकम नेपालमा त्यो सिस्टम असम्भव रहेको उनको भनाई थियो । सम्मानित नेता खनालले काँग्रेस र एमाले घमण्डी र भ्रष्ट पार्टी रहेकाले उनीहरुले संविधान संशोधनका लागि चलाएको हल्ला पनि काम नलाग्ने बताए । दुई ठूलो पार्टीले आफूहरुको सहयोग बिना संविधान संशोधनको नाममा कमा र फुलिष्टप पनि चेन्ज गर्न नसक्ने सम्मानित नेता खनालले बताए। उनले संविधान संशोधनको नाममा समानुपातिक समावेशी प्रणाली हटाउने धृष्टता सत्तारुढ दलहरुले गरेर नेपाली जनताले त्यसको प्रतिरोध गर्ने चेतावनी समेत दिए । 

सम्मानित नेता खनालले काँग्रेसमाथि सवार भएर प्रधानमन्त्री केपी ओलीले सत्ता चलाइरहेको भन्दै त्यसले एमाले भित्र ठूलो असन्तुष्टि बिजारोपण गरेको पनि बताए ।