
‘प्रहरीले ल्याएको सर्जमिनमा हस्ताक्षर गर्दा अनायसै विवादमा परे’
आइतवार , भाद्र ९, २०८१
भैरहवा, ९ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ का वडाध्यक्ष राजनजंग राणाले सि.न.पा.–६ का मल्लाह परिवारको घरजग्गा सम्बन्धी विवादमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन् ।
घरजग्गा सम्बन्धी विवादमा आफ्नो नाम जोडेर बदनाम गराउन खोजिएको भन्दै वडाअध्यक्ष राणाले अंश हत्याउन लागिपरेको आरोप लागेका मालती मल्लाहिन र रिखीदेवी अग्रवालको वास्तविकताबारे आफूले बल्ल जानकारी पाएको बताए ।
भैरहवामा आइतबार पत्रकार सम्मेलन गर्दै वडाअध्यक्ष राणाले प्रहरीले ल्याएको सर्जमिनमा आफूले हस्ताक्षर गरेको बताउदै आफ्नो नेतृत्वमा कुनै पनि काम नगरेको बताए ।
‘सर्जमिनका लागि आउँदा वंशजको नागरिकता थियो, सबै प्रमाण पुगेर आएको थियो’, उनले भने, ‘प्रहरीले जनप्रतिनिधिको रुपमा हस्ताक्षर गर्न भनेपछि मैले हस्ताक्षर गरेको हुँ, यसमा मेरो कुनै भूमिका छैन् । आवश्यक परे अनुसन्धानमा सहयोग गर्छु ।’
उनले यस विषयमा वडामा कुनै पनि सर्जमिन नभएको दावी गरे । प्रहरीको विश्वासमा परेर हस्ताक्षर गर्दा आफू बदनाम हुन पुगेको भन्दै उनले गुनासो गरेका छन् । ‘रिखीदेवीको परिवारको अन्य विषयमा केही फाइल म कहाँ आएको छ, अहिले ती फाइल रोकेर राखेको छु’, उनले भने, ‘गलत भन्ने पहिला थाहा पाएको भए म रोहबरमा बस्ने थिइनँ ।’
उनले वडा नम्बर ६ ले सर्जमिन गर्न नमानेर मकहाँ पठाएको भन्ने पनि यकिन नभएको बताए । पहिला वडा नम्बर ६ मा सर्जमिन गर्न लगिएर त्यहाँ नभएपछि वडा नम्बर ८ मा ल्याइएको विषय बल्ल जानकारीमा आएको बताए ।
उनले वडामा सर्जमिन नआएकाले कुन ठाउँमा र कतिबेला हस्ताक्षर गरे भन्ने समेत बिर्सिएको बताए । ‘विश्वासमा पर्दा समस्या भयो, आवश्यक सहयोग गर्न म तयार छु’, उनले भने, ‘पीडित जो भए पनि न्याय पाउनुपर्छ ।’ राणाले रिखीदेवी अग्रवाल वडा नम्बर ८ को बासिन्दा भए पनि मालती मल्लाहिनबारे जानकारी नभएको बताए ।
सिद्धार्थनगर–६ का निःसन्तान दम्पत्ति सुखु मल्लाह र कवुतरी मल्लाहको छोरी भन्दै रिखीदेवी र मायादेवी–३ की बासिन्दा मालती मल्लाहिनले नागरिकतामा सुखुको नाम राखेर नागरिकता बनाएर अहिले सम्पत्ति हड्प्ने प्रयास गरेको आरोप लागेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij