२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कृष्ण जन्माष्टीको अवसरमा सि.बि. पब्लिकद्वारा सडक नृत्य कार्यक्रम

सोमवार , भाद्र १०, २०८१

भैरहवा, १० भदौ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ स्थित सि.बि पब्लिक हाई स्कूलले सडक नृत्य कार्यक्रम गरेको छ । आइतबार विद्यालय अगाडि सिद्धार्थ राजमार्गमा कार्यक्रम गरिएको प्रिन्सिपल उदय कुमार मल्लिकले बताए ।

कार्यक्रममा भगवान श्रीकृष्ण सम्बन्धी नृत्य, नाटकसहितको नृत्य कार्यक्रम गरिएको मल्लिकले जानकारी दिए । हरेक धर्म तथा संस्कृतिको आ–आफनै महत्व हुने भएकाले विद्यालयको अतिरिक्त क्रियाकलाप अन्र्तगत यस्ता खालका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको उनले बताए । ‘संस्कृतिको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो, ’उनले भने ।

कार्यक्रममा श्रीकृष्णको गीत नेपाली, मैथली र हिन्दी भाषामा बजाई १६ वटा एकल, सामूहिक तथा सदनात्मक प्रस्तुति प्रदर्शन गरिएको थियो । लुम्बिनी, तिलौराकोट, देवदह र रानीमहल सदनले प्रस्तुती गरेका थिए ।

कार्यक्रममा स्कूलका प्रिन्सिपल, शिक्षकशिक्षिका, कर्मचारी तथा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका साथै बाटोमा हिड्ने दर्शकहरुको उपस्थिति रहेको थियो । त्यस्तै सि.बि. पब्लिक जुनियर तथा युवा रेडक्रस सर्कल एवं बाल क्लबको सक्रिय उपस्थिति थियो ।

कक्षा १० मा अध्ययनरत सकिना खातुन र कक्षा ९ मा अध्ययनरत कृषांग थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  

WhatsApp Image 2024-08-25 at 2.20.06 PM.jpeg