
सोमवार , भाद्र १०, २०८१
भैरहवा, १० भदौ ।
जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य महेन्द्र यादवले पार्टी विभाजनको कारण उपेन्द्र यादव नै रहेको दावी गरेका छन् । उनले उपेन्द्र आजीवन पार्टीको अध्यक्ष बन्न खोज्ने, पटकपटक उपप्रधानमन्त्री र ‘मालदार’ मन्त्रालय चाहिने लगायत कारण पार्टी विभाजन भएको बताए । उनले जसपा नेपालको महाधिवेशनमा पनि षडयन्त्र गरिएको आरोप लगाए ।
जसपा जिल्ला कार्यसमिति रुपन्देहीको घोषणा सभालाई आइतबार भैरहवामा सम्बोधन गर्दै केन्द्रीय सदस्य यादवले यस्तो बताएका हुन् । उनले भने, ‘जबसम्म पार्टीमा पादरर्शीता हुँदैन, नेता–कार्यकर्ताको मूल्यांकन हुँदैन, तबसम्म इमान्दार व्यक्ति कसरी पार्टीमा टिक्छन् ? ५४ सिट आएको जसपा नेपाल किन ५ सिटमा सीमित भयो ? पार्टी लोकतान्त्रिक विधिमा सञ्चालन भएन ।’
उनले अशोक राई नेतृत्वको जसपाले यो देशको मधेशी, जनजाति, दलित तथा सम्पूर्ण उत्पीडित समुदायको अधिकारका लागि लड्ने बताए । सबैको साथ पाए जसपालाई लुम्बिनी प्रदेशमा पहिलो पार्टी बनाउने उनले दावी गरे । विगतमा आफू पार्टीको रुपन्देही जिल्ला अध्यक्ष हुँदा जसपा नेपालले चार पालिकाको प्रमुख जितेर जिल्लामा दोस्रो ठूलो पार्टीको रुपमा स्थापित भएको उनले दावी गरे । उनले न्यायको पक्षमा वकालत गरिरहने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij