
सोमवार , भाद्र १०, २०८१
भैरहवा, १० भदौ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहल तथा रुपन्देहीका उद्योगी–व्यवसायीको आर्थिक सहयोग ‘ब्लडमनी’ मा सहमति भएपछि मृत्युदण्डबाट जोगिएका धनुषाका रामआषिश यादव घर फर्किएका छन् ।
साउदीमा सँगै काम गर्ने रुपन्देहीको कञ्चन गाउँपालिका–४ का दुुर्गाप्रसाद शर्माको हत्यापछि धनुषाको जनकपुर नगरपालिका–१७ का यादवलाई त्यहाँको अदालतले ५ वर्ष कैद सजाय र त्यसपछि पीडित परिवारसँग ब्लडमनीमा सम्झौता नभए मृत्युदण्ड हुने फैसला सुनाएको थियो ।
जसअनुसार यादवले ५ वर्ष जेल जीवन काटिसकेका थिए । पीडित परिवारसँग ब्लडमनीको सम्झौता नभए उनलाई मृत्युदण्ड हुने निश्चित थियो । तर, गत असार २५ मा पीडित परिवारसँग ब्लडमनीमा सम्झौता भयो र उनी मृत्युदण्ड हुनबाट जोगिए । त्यसपछि जेलमुक्त भएर यादव नेपाल आएका हुन् ।
गत हप्ता काठमाडौं ओर्लिएका यादव सोमबार जनकपुरबाट श्रीमती, छोरीहरु र आफन्तसहित रुपन्देही आएर जिल्ला प्रशासनमार्फत् गल्तीको प्रयाश्चित गर्दै पीडित परिवारसँग माफी मागेका छन् भने आफ्नो ज्यान बचाइदिएको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।
यादवलाई मृत्युदण्डबाट जोगाउन र पीडित परिवारलाई ब्लडमनीवापत रकम उपलब्ध गराउन रुपन्देहीका ३० जना उद्योगी–व्यवसायी र सुरक्षा अधिकारीले गरेर ३६ लाख २५ हजार र परिवारले १० लाख रुपैयाँ सहयोग जुटाएका थिए । ४६ लाख २५ हजार रुपैयाँ ब्लडमनी जिल्ला प्रशासनमा गत असार २५ मा मृतककी श्रीमती सीताकुमारी शर्मालाई हस्तान्तरण गरिएको थियो ।
ब्लडमनीमा सम्झौता भएको विवरण दुतावासमार्फत साउदी पठाइएको थियो । यसको डेढ महिनापछि यादव जेलमुक्त भएर स्वदेश फर्किएका हुन् । प्रमुख जिल्ला अधिकारी अर्याल र नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले आफ्नो गल्तीको प्रयाश्चित गर्दै अबका दिनमा परिवार, समाज र देशका लागि असल नागरिक भएर काम गर्न यादवलाई सुझाए ।
यादवले रक्सी खाएर एकआपसमा झगडा भएको र आफूले धकेल्दा भुँइमा लडेका शर्माको छातीमा चोट लागेपछि मृत्यु भएको बताए । उनले आफ्नो जीवन बचाउन पीडा बिर्सिएर सहयोग गर्ने शर्माकी श्रीमती सीता र ब्लडमनी जुटाउन सहयोग गर्ने प्रमु्ख जिल्ला अधिकारी र रुपन्देहीका उद्योगी–व्यवसायीलाई कहिल्यै बिर्सन नसक्ने जनाए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij