बुधवार , फाल्गुण १९, २०७७
लुम्बिनी, १९ फागुन ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई ‘बौद्ध दर्शन र सञ्चार’ शोध प्रबन्धमा विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको छ ।
प्रा.डा. राजकुमार पोखरेल, प्रा. हरि प्रसाद अधिकारी, डा. माणिकरत्न शाक्य, भिक्षु सकिच्च, प्रा.डा गितु गिरी, प्रा.डा. रञ्जना बज्राचार्य, प्रा.डा. सुवर्णलाल बज्राचार्यल गायतका बाह्य तथा आन्तरिक परीक्षक एवं लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान समितिका पदाधिकारीहरुको २०७७ फागुन १९ गते बुधबार बसेको बैठकले उनलाई विद्यावारिधि (पी.एच.डी) उपाधि प्रदान गर्ने निर्णय गरेकोे हो ।
शोध प्रबन्धका निर्देशकमा प्रा.डा. गितु गिरी र शोध विशेषज्ञमा डा. माधव पन्थी रहनुभएको लुम्बिनी बौद्ध विश्वविद्यालयबाट जानकारी प्राप्त भएको छ ।
अनुसन्धान समितिको बैठकले उनलाई लुम्बिनी बौद्ध विश्वविद्यालय, विद्यावारिधि उपाधि सम्बन्धी विनियम २०७५ परिच्छेद ४ नियम नम्बर ४५ को च अनुसार बौद्ध अध्ययन संकाय अन्तर्गत सञ्चालित पीएचडी कार्यक्रम अनुसार ‘बौद्ध दर्शन र सञ्चार’ विषयमा विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।
पीएचडी उपाधि प्राप्त चापागाईंले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा एम.ए., कानूनमा एलएलवी, आम सञ्चार तथा पत्रकारिता विषयमा पूर्वाञ्चल विश्वविद्यालयबाट एम.ए.तथा प्राकृतिक चिकित्सा तथा योग विज्ञानमा डिप्लोमा समेत गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij