२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुद्ध सामुदायिक टेलिभिजन १७ औं वर्षमा प्रवेश

सोमवार , भाद्र १०, २०८१

बुटवल, १० भदौ । 
शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजन सोमबार (आज) देखि १७ औं प्रवेशमा प्रवेश गरेको छ । वि.सं. २०६५ सालमा कृष्ण जन्माष्टमीका दिन टेलिभिजनले आफ्नो प्रसारणको सुरुवात गरेको थियो । १६ औं वार्षिकोत्सवको अवसरमा टेलिभिजनले विभिन्न रचनात्मक तथा सामाजिक काम गरेर मनाउन सुरु गरेको हो । बुद्ध सामुदायिक टेलिभिजनको प्रांगणमा आयोजित समारोहको  रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै उनले समाज रुपान्तरणमा टेलिभिजनको महत्वपूर्ण भूमिका रहेको बताउँदै निष्पक्ष पत्रकारिता गर्नको लागि जोड दिए । नेपालमै पहिलो मिडिया ग्राम बुटवलमा स्थापना गर्ने र यसको सुरुवात यसै वर्षबाट गरिने उनले जानकारी दिए । मिडिया हाउसहरु पछिल्लो समय आर्थिक संकटबाट गुर्जिएको बताउँदै मिडिया ग्रामको स्थापना गर्न सके मिडिया हाउसलाई बचाउन सकिने पाण्डेयको भनाइ छ । मिडिया हाउस बाँचे मिडियाकर्मी बाँच्ने बताउँदै नग प्रमुख पाण्डेयले आफ्नै कार्यकालमा जस्तोसुकै परिस्थितिको सामना गरेर भएपनि मिडिया ग्रामको स्थापना गराएरै छाड्ने उनले बताए ।

बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले टेलिभिजनले समाजका कुरानै प्रमुख मुद्दा बनाउँदै आएको बताए । उनले उपमहानगरपालिकाले मिडिया हाउसलाई जोगाउन भूमिका निर्वाह गर्नुपर्ने बताए ।

टेलिभिजनका पूर्वअध्यक्ष, निर्देशन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता बेनबहादुर पौडेल क्षेत्रीले टेलिभिजनले अबका दिनमा आफ्नै भवन निर्माण गरेर प्रशारणको लागि पहल गर्नुपर्नेमा जोड दिए ।

टेलिभिजनका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकारले सधै प्रश्न गर्नुपर्ने र पत्रकारिता आचारसंहिताको पालनमा जोड दिए । बुटवल उपमहानगरपालिकाले मिडिया हाउस र मिडियाकर्मीको क्षमता बृद्धिको लागि महत्वपूर्ण भूमिका खेल्दै आएको उनले चर्चा गरे । 

नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कविन्द्र नेपालले टेलिभिजनले समाजमा शान्ति स्थापनाको लागि सन्देश दिन गरी काम गर्नको लागि शुभकामना दिए । 

समाजवादी प्रेस संगठन, रुपन्देहीका अध्यक्ष विनोद परियारले पत्रकारले उठाउने प्रश्न ब्यक्तिको लागि नभएर सुधारको लागि उठ्ने भएकाले जनप्रतिनिधिले सकारात्मक ढंगबाट बुझ्नका लागि आग्रह गरे । त्यस्तै टेलिभिजनका कोषाध्यक्ष अरुण कुमार श्रेष्ठले टेलिभिजनको वार्षिकोत्सवलाई पर्वको रुपमा मनाउँदै आएको बताए ।

वार्षिकोत्सवको उदटन समारोह टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवालीको स्वागत तथा कार्यक्रम प्रमुख खेमराज रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो । 

वार्षिकोत्सवको अवसरमा भदौ १४ गते रक्तदान, छात्रवृत्ति वितरण, तीज मिलन लगायतका रचनात्मक कार्यक्रम गरिने टेलिभिजनका प्रमुख कार्यकारी प्रमुख कपिल ज्ञवालीले जानकारी दिए ।