
मंगलवार , भाद्र ११, २०८१
पाल्पा, ११ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताका गुनासाहरु प्रत्यक्ष रुपमा सरकारले सुनवाइ गर्ने बताएका छन । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार पाल्पामा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सेवा प्रवाहमा हुने ढिलासुस्तीबारे नागरिक तहबाट हुने गुनासोलाई प्रदेश सरकारले सुनुवाइ गर्ने बताएका हुन् ।
प्रदेश सरकारका मन्त्रालय, विभाग, निर्देशनालय तथा जिल्ला तहमा रहेका कार्यालयहरुमा अनिवार्य रुपमा गुनासो पेटिका राख्ने र त्यसको प्रभावकारी कार्यान्वयन गर्न उनले आग्रह गरे । ‘कर्मचारीले दुःख दिएको छ कि ? जनप्रतिनिधिले दुःख दिएको छ कि ?यो कुरा सुझाव पेटिकामार्फत गुनासो संकलन गर्छाैं । उनले भने, ‘सरकारले प्रदान गर्ने सेवालाई नागरिकमैत्री बनाउँछ । ढिलासुस्ती गर्ने, बहानाबाजी गर्ने छुट कसैलाई छैन । सरकारले नागरिकको गुनासो सुन्छ ।’
नयाँ सरकार गठन भएदेखि सुशासन, पारदर्शिता र जवाफदेहीताको क्षेत्रमा निर्मम ढंगले सरकारले काम गर्न खोजेको उनले स्पष्ट पारे । ‘प्रदेश सरकार निर्मम भएर अघि बढ्न खोजेको छ । भ्रष्टाचार न्यूनीकरणका लागि पाँचवर्षे रणनीतिक कार्ययोजना निर्माण, उपभोक्ता समितिको नाममा काम लिने र ठेकेदारमार्फत काम गर्ने प्रवृत्ति निरुत्साहित गर्न पाँचलाख माथिका योजना ठेक्कामार्फत कार्यान्वयन गर्दैछौं । उनले भने, ‘यसरी प्रदेश सरकारले नागरिक तहमा बढ्दै गएको निरासाहरुलाई चिर्दै आशामा बदल्न खोजेको छ ।’
मुख्यमन्त्री र मन्त्रीहरुलाई आचारसंहिताको बन्धनमा राखिएको, जसबाट मन्त्रीको जिल्ला भ्रमणमा हुने फजुल खर्च नियन्त्रण हुने उनले विश्वास व्यक्त गरे । ‘मुख्यमन्त्री, मन्त्रीहरुले के गर्न हुने, के गर्न नहुने भनेर आचारसंहिताको निर्माण गरेका छौं । आँटका साथ आचारसंहिता जारी गरेर कार्यान्वयन गरेका छौं । उनले भने। ‘अनावश्यक भ्रमण गरेर प्रदेश सरकारलाई आर्थिक भार थोपर्ने प्रवृत्ति रोक्न खोजेका छौं ।’
प्रदेश सरकारले रिक्त कर्मचारीको दरबन्दी फुलफिल गर्ने योजना बनाएको मुख्यमन्त्री आचार्यले सुनाए । उनले झण्डै २ हजार कर्मचारी लोकसेवामार्फत पदपूर्ति गर्ने प्रक्रिया सुरु भएको बताए ।
पाल्पा जिल्लाको समग्र विकासका लागि प्रदेश सरकारले १ अर्ब ६५ करोड बजेट पूँजीगत आयोजना लागि बिनियोजन भएको जानकारी दिए । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले भगवती रथ यात्रालाई महत्व दिएको र सार्वजनिक विदा दिएर सम्मान गरेको बताए । ‘प्रदेशले गौरवको पर्व मानेको छ । मन्दिर पुनर्निर्माण गर्ने जिम्मेवारी सरकारले लिन्छ । उच्च प्राथमिकतामा राखेर काम गर्छ । उनले भने, ‘मन्दिरको पुनर्निर्माण प्रदेश सरकारको जिम्मेवारी र दायित्व हो ।’
नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रिखिराम रानाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानी मेघराज शर्माले जनतामा बढ्दै गरेको निराशालाई चिर्न जरुरी रहेको बताए । जनतामा आशा जगाउन, विकृतिकाविरुद्ध सरकार कठोर बन्नुपर्ने धारणा राखे ।
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले राष्ट्रिय स्वाधीनताको विचारलाई आत्मसात गर्नुपर्ने बताए । उनले राष्ट्रिय पर्वको मान्यता दिन आवश्यक रहेको, रणउजेरिश्वरी मन्दिरको लागि पुनर्निर्माणको लागि प्रयाप्त बजेट सुनिश्चित गर्न आवश्यक रहेको बताए । उनले सामाजिक अराजकता बढ्दै गरेकोप्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य ठाकुर गैरे, नारायण आचार्य, लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगर लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा विभिन्न विधामा कलम चलाउने २१ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij