२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पाल्पामा राष्ट्रपतिलाई मुख्यमन्त्री आचार्यद्वारा स्वागत

मंगलवार , भाद्र ११, २०८१

पाल्पा, ११ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रपति रामचन्द्र पौडेललाई पाल्पामा स्वागत गरेका छन् । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न मंगलबार यहाँ आएका राष्ट्रपति पौडेललाई मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन् । 

राष्ट्रपतिलाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ । त्यस्तै जात्रामा सहभागी हुन आएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन बद्री पाण्डे र रक्षामन्त्री मान वीर राईलाई समेत स्वागत गरिएको छ ।

पाल्पाको तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ । लुम्बिनी प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा यस वर्ष सार्वजनिक विदा समेत दिएको छ । नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको अर्काे दिन धुमधामका साथ विजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहदै आएको छ । 

विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यवादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा विजय उत्सव स्वरुप सो जात्रा निकालिदै आएको छ । 

तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्व र जात्राको रुपमा परिचित छ । कर्णेल उजीर सिंह थापाले वि.संं. १८७६ मा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रुपमा सञ्चालन गरिदै आइएको छ ।