
मंगलवार , भाद्र ११, २०८१
पाल्पा, ११ भदौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको तानसेनस्थित रणउजिरेश्वरी भगवती मन्दिरमा पूजा आराधना गरेका छन् । ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न मंगलबार राष्ट्रपति पौडेल पाल्पा आएका हुन् । पाल्पा आएका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए ।
तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा प्रत्येक वर्ष भगवती रथ यात्रा हुने गर्दछ । लुम्बिनी प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा यस वर्ष सार्वजनिक बिदा समेत दिएको छ ।
नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट धुमधामका साथ विजय उत्सवस्वरूप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहिआएको छ ।
तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राको रुपमा परिचित छ । कर्णेल उजीर सिंह थापाले विसं. १८७६ मा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रूपमा सञ्चालन गरिदै आइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij