२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

१० वर्षसम्म एउटै कार्यालयमा राख्ने प्रवृत्ति हटाउनुपर्छ : आईजीपी कुँवर

बुधवार , भाद्र १२, २०८१

भैरहवा, १२ भदौ ।
नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले १० वर्षसम्म एउटै कार्यालयमा राख्ने प्रवृत्ति हटाउनुपर्ने बताएका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको परिसरभित्र नवनिर्मित भवनहरुको उद्घाटन गर्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् । 

उनले भने, ‘यो र त्यो भनेर तपाईहरु राख्नुहुन्छ । त्यो बिना काम गर्न सक्नुहुन्न । थाहा छैन के हो । नयाँ, फ्रेस मान्छेबाट काम गराउनुस् । त्यो सेटिङ भत्कन्छ । मैले कतिपटक भनेको छु १०–१५ वर्षसम्म एकैठाउँमा बस्ने मान्छे कहिले यो ढोकाबाट त्यो ढोकामा गएको छ, त्यो ढोकाबाट यो ढोकामा गएको छ । यो प्रवृत्ति नष्ट गरौं ।’ प्रहरी कर्मचारी तराईमा र सीमा क्षेत्रमा जान खोज्ने प्रवृत्ति देखिएको तर, जहाँ गए पनि काम एउटै हुँदैन र भन्दै उनले प्रश्न गरे ।

IMG_0516.JPG

समाजमा सुशासन, समृद्धि कायम गर्ने र नागरिकसँग सहकार्य गर्ने प्रहरीको उद्देश्य रहेको उनको भनाइ छ । उनले स्वार्थभन्दा माथि रहेर काम गरे केही समस्या नआउने स्पष्ट पारे ।
उनले स्वार्थ रहे झडप हुने र सामूहिक भावनाको विकास नहुने तर्क गरे ।

आईजीपी कुँवरले नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै राजस्व चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेपाल प्रहरी आम नागरिकको आशा र भरोसाको केन्द्र हो । प्रहरीभित्र अपवित्र काम गर्ने कसैलाई छुट छैन । सही र गलत कामको प्रहरी संगठन र नागरिक समाजले मूल्यांकन गरिरहन्छ । ’अपराध रोकथाममा र अनुसन्धान नेपाल प्रहरीको एकल प्रयासले मात्र नहुने भएकाले त्यसमा नागरिकको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । 

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतले भने, ‘जहाँ व्यवस्थित कार्याल्य हुन्छ, त्यहाँ प्रहरीको आत्मबल बढ्छ । अब जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मेवारी थपिएको छ ।’

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले ट्राफिक प्रहरीबाट सहयोग पाउन नसकेको गुनासो गरे । उनले क्षमता भन्दा बढी सामान बोक्ने सवारीसाधनलाई जरिवाना मात्र तिराएर सडकको अवस्था सुधार हुन नसक्ने बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला प्रहरी कार्यालयले व्यवस्थित संरचना पाएको बताए । उनले प्रहरी नागरिकको सेवामा अझ दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले सुविधासम्पन्न भवनले प्रहरीको आत्मबल बढाउने विश्वास व्यक्त गरे ।

सिद्धार्थनगर नगरपालिका–१३ (भैरहवामा) रु. १४ करोड ९६ लाख ९४ हजारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवनहरु निर्माण भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखा प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ई.रोशन सारु मगरले बताए । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी निरीक्षक अमृता के.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।