
बुधवार , भाद्र १२, २०८१
काठमाडौं, १२ भदौ । लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ बिजिनेस ग्रुप अफ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीबीच ब्याचलर इन् हस्पिटालिटी एण्ड् टुरिजम म्यानेजमेन्ट (बिएचटिएम) अध्ययन गर्ने विद्यार्थीलाई बौद्ध दर्शनसमेतको सैद्धान्तिक र व्यवहारिक ज्ञानका साथ पढ्दै कमाउँदै गर्ने अवसर प्रदान गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ ।
कार्यक्रममा उपस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शनका विविध आयामहरुमा अध्ययन, अनुसन्धान र सहकार्य गर्ने उद्देश्यका लागि प्रतिष्ठित सिद्धार्थ बिजिनेस ग्रुपसँग सहकार्य सम्झौता सम्पन्न भएकोमा खुशी व्यक्त गरे । यसप्रकारको सहकार्यबाट विश्वविद्यालयले अझ धेरै प्राज्ञिक विशिष्टता हासिल गर्दै सक्षम र सबल जनशक्ति उत्पादन हुने र समग्र व्यवसायिक क्षेत्रले लाभ प्राप्त गर्ने अपेक्षा राखिएको उनले बताए ।
‘अध्ययन पूरा गरिसक्दा यस क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन होस् भन्ने हाम्रो चाहना हो, प्लस टुपछि उच्च शिक्षाका लागि प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थीहरु विदेश पलायन भैरहेका छन् । यस सहकार्यमार्फत विद्यार्थीहरुले पढ्दै कमाउँदै गर्न पाउने भएकाले उनीहरुलाई केही हदमा भए पनि स्वदेशमै रोक्न सकिनेमा हामी विश्वस्त छौं ।’ सिद्धार्थ बिजिनेस ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले भने ।
विद्यार्थीले चारवर्षे कोर्समा पहिलो सेमेस्टरमा बौद्ध दर्शनसँगै होटल व्यवस्थापनबारे आधारभूत ज्ञान लिनेछन् । दोस्रो सेमेस्टरदेखि उनीहरुले पढ्दै पैसा कमाउन सक्ने गरी कोर्स डिजाइन गरिएको सिद्धार्थ बिजिनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए । यस कोर्समा विद्यार्थीहरुले पर्यटन व्यवस्थापन पनि पढ्न पाउनेछन् ।
‘विद्यार्थीले पढाइका लागि गर्ने कुल खर्चमध्ये अधिकांश खर्च पढाइ पूरा गर्दा रिकभर गर्न सकुन् भन्ने हाम्रो उद्देश्य हो, सोहीअनुसार कोर्स पनि डिजाइन गरिएको छ’, सिइओ न्यौपानेले भने, ‘विद्यार्थीहरुले सिद्धार्थ हस्पिटालिटी अन्तर्गतका विभिन्न होटल, रिसोर्ट एवं क्याफेमा प्रयोगात्मक कक्षा लिँदै कमाउन सक्नेछन् ।’
विश्वविद्यालयअन्तर्गत पर्यटन तथा आतिथ्य विषय समितिका अध्यक्ष डा. श्रीप्रसाद भट्टराईले विद्यार्थीको ज्ञान, सीप र व्यवहार तीन वटै पक्षको प्रभावकारी सिकाइ र मूल्यांकन हुने गरी कोर्स डिजाइन गरिएको बताए । उनी भन्छन्, ‘पहिलो वर्ष ४० जना विद्यार्थीबाट कोर्स सुरुआत गर्दैछौं, हस्पिटालिटी क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र स्वदेशमै उनीहरुलाई टिकाइ राख्नका लागि इन्ष्टिच्यूटसँग सहकार्य गरिएको हो ।’
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पढ्नका लागि बैंकबाट कर्जा प्रवाहका लागि सहजीकरण समेत गरिदिने र उनीहरुले पढाइका अवधिमा कमाएको पैसा किस्ताका रुपमा तिर्न पनि सक्ने गरी योजना बनाइएको सिद्धार्थ बिजिनेस ग्रुपका सिइओ न्यौपानेले उल्लेख गरे । ‘विद्यार्थीहरुको प्रयोगात्मक कक्षाको आवद्धताका आधारमा क्रेडिट आवर गणना हुन्छ र थप समय काम गरी वर्किङ आवरका आधारमा कमाउन सक्नेछन्, ’उनले भने ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयका तर्फबाट मानविकी तथा समाजशास्त्र विभागका डिन प्रा.डा. हरिशरण चंखु र इन्स्टिच्युटकातर्फबाट सिद्धार्थ बिजिनेस ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले हस्ताक्षर गरेका हुन् ।
हस्पिटालिटी क्षेत्रमा नेपालको लोकप्रिय ब्राण्ड सिद्धार्थसँग सहकार्य गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै सिद्धार्थ ग्रुपअन्तर्गत अन्तर्राष्ट्रियस्तरको गुणस्तरीयता, चेन होटल, पाँचतारे होटलसहितको सुविधालगायतका विशेषताको उच्च मूल्यांकन गरी सहकार्य गरिएको विश्वविद्यालयका डिन प्रा.डा. हरिशरण चंखुले बताए ।
सो कार्यक्रममा विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार डा. तिलकराम आचार्यलगायत् प्राध्यापक, पदाधिकारी र वरिष्ठ कर्मचारी तथा सिद्धार्थ इन्स्टिच्युटका तर्फबाट सिद्धार्थ बिजिनेस ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपाने, उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, महासचिव मुक्तिराम भण्डारी, प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपाने लगायत सिद्धार्थ हस्पिटालिटी र सिद्धार्थ इन्स्टिच्युटका वरिष्ठ कर्मचारीहरूको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij