
बिहिवार , फाल्गुण २०, २०७७
भैरहवा, २० फागुन ।
भारतीय बजार सुनौलीतर्फ जाँदै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महिलामाथि अभद्र व्यवहार गरेपछि बन्द रहेको सीमा नाका बेलहिया दुई देशका सुरक्षा प्रमुखको समझदारीपछि खुलेको छ ।
सुनौली जाँदै गर्दा बेलहियाकी एक महिलालाई भारतीय सुरक्षाकर्मीले चेकजाँचका नाममा ती महिलाको कपडा च्यातिदिएपछि सीमा नाका बेलहियामा तनावको परिस्थिति उत्पन्न भएको थियो ।
भारतीय सुरक्षाकर्मीको ज्यादतीपछि नेपाली पक्षको ठुलो संख्यामा उपस्थित हुँदै नाका घेराउ गरेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा महाराजगंजका सुरक्षा प्रमुख डी.एम र एस.पी.सहितले छलफल गरेका थिए ।
छलफलमा महिलामाथि भएको अभद्र व्यवहारका विषयमा आवश्यक अनुसन्धान गर्ने तथा सीमा क्षेत्रमा देखिएको सामान्य घटनालाई सामान्य ढंगले नै समाधान गर्ने गरी समझदारी भएपछि नाका खुलेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए । उनले इलाका प्रहरी कार्यालय बेलहियामा दुई देशका सुरक्षा प्रमुखको छलफलमा दुई पक्षले आ–आफ्ना देशमा देखिएका असमझदारी हटाउने सहमति गरिएको बताए ।
समझदारीपछि अहिले नाका पूर्ण रुपमा सुचारु भएको छ । स्थानीय महिलामाथि भएको अभद्र व्यवहारको विरोधमा सयौंको संख्यामा सीमा नाका बेलहियामा स्थानीय जम्मा भएर बुधबार सांझ दुई घण्टा बढी नाका पूर्ण रुपमा बन्द गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij