२०८२, माघ ४ गते

Jan 18 2026 | २०८२, माघ ४ गते

ज्येष्ठ नागरिकलाई सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनमा ल्याउन मुख्यमन्त्री आचार्यको पहल

शुक्रवार , भाद्र १४, २०८१

  • 934
    Shares
  • 934
    Shares
  • दाङ, १४ भदौ ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको लागि प्रदेश सरकारले पहल लिने बताएका छन् । ६० वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिकको दर्जा दिइएको छ । सार्वजनिक सवारीसाधनमा दुईवटा सिट सुरक्षित गरी ५० प्रतिशत गाडी भाडा छुट दिने कानूनी व्यवस्था छ । तर, यो व्यवस्था पूर्ण कार्यान्वयनमा नआउँदा ज्येष्ठ नागरिकहरु समस्या परेको भन्दै मुख्यमन्त्री आचार्यले कार्यविधिको पूर्ण कार्यान्वयनसँगै ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारीसाधनको भाडामा पूर्ण छुट दिने बारेमा समेत पहल गरिने बताएका हुन् ।

    ९२ वर्षिय ज्येष्ठ नागरिक जुद्धप्रसाद भट्टराईसँगको भेटमा मुख्यमन्त्री आचार्यले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने जिम्मेवारी राज्यको भएकाले पाका पुस्ताको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरेर समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश बनाउने अभियानमा जोडिन सबै ज्येष्ठ नागरिकहरुमा अपील गरेका छन् ।‘ज्येष्ठ नागरिकलाई श्रद्धा, आदर र सदभाव अभिवृद्धि गर्ने काम राज्यले गर्छ’उनले भने,‘तपाईहरुको ज्ञान, सीप, क्षमता र अनुभव मुलक बनाउन खाँचो छ ।’

    मुख्यमन्त्रीसँगको भेटमा ज्येष्ठ नागरिक भट्टराईले ८० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारीसाधनमा भाडा निःशुल्क बनाउन माग राखेका थिए । मुख्यमन्त्री आचार्यलाई भेट गर्न भट्टराई बिहीवार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरी आएका थिए । ‘हामीलाई सकभर गाडीमा चढाउदै चढाउदैनन् । चढाई हाले भाडा छुट दिदैनन’उनले भने,‘हामी ज्येष्ठ नागरिकलाई यात्रामा पूर्ण छुट चाहियो ।’ 

    घरमा बस्नु भन्दा घुमेर समय बिताउन चाहने ज्येष्ठ नागरिकलाई राज्यले सुविधा दिनुपर्ने उनको भनाइ छ ।‘एकै ठाउँमा बसिरहदा बिरामी परिन्छ । राम्रो हुँदैन । भ्रमण गराउने काम राज्यले गर्नुपर्छ’भट्टराईले भने,‘म घुमिरहन्छु । तर, गाडीमा यात्रा गर्न सजिलो छैन् । ढाँट छल गर्छन । दुःख दिन्छन् । हामीलाई सम्मानपूर्वक घुमिफिर गर्ने वातावारण बनाईदिनुपर्याे ।’

    राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूको संख्या २९ लाख ७७ हजार ३१८ पुगेको छ । जुन कुल जनसंख्याको १०.२१ प्रतिशत हो ।