२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको अर्थमन्त्री पौडेलले शिलान्यास गर्ने

शुक्रवार , भाद्र १४, २०८१

बुटवल, १४ भदौ । 
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना रहेको लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शनिबार (भोली) उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकारको लागतमा टेण्डर प्रक्रिया सम्पन्न भइ पुरानो संरचना हटाएर नयाँ संरचना निर्माणका लागि शिलान्यास गर्न लागिएको हो । 

शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीहरुसहित विभिन्न विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए । 
अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने छ । 

भवन निर्माणका लागि जग खन्न ७० प्रतिशत बढी पाइलिङ (जमिनमा मेशिनले प्वाल पारेर पिल्लर गाड्ने काम) सम्पन्न भइसकेको साइट ईन्जिनियर रमेश शर्माले जानकारी दिए । कूल ७८५ वटा पाइलिङ गर्नु पर्नेमा ४९० पाइलिङ सम्पन्न भएको उनले बताए । वरीपरीका संरचनामा क्षति हुनबाट रोक्नका लागि १३ मिटर गहिरो पाइलिङ गरेर भवनको जग खन्ने काम गरिने बताए । हाल ६५ जना कामदारबाट कम्तिमा दैनिक १० घण्टाका दरले काम भइरहेको शर्माले बताए । 

अस्पतालको नयाँ बन्ने भवनको डीपीआर अनुसार १२ गतले अत्याधुनिक भवनमा बहिरंग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी) र इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्यूरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुनेछन् । भवनको माथि हेलिप्याड रहनेछ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्ट समेत बन्नेछ । क्यान्सर उपचारका लागि भने अन्डरग्राउण्डसहित पाँचतलाको अलग्गै भवन बन्नेछ । १२ तलाको नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीनवटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बालरोगको उपचारका लागि प्रयोग गरिनेछ । 

तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर जबराको पालामा वि.सं. १९६७ फागुन १५ गते ६ शैय्याबाट सुरू भएको यो अस्पताल लुम्बिनी क्षेत्रकै सबैभन्दा पुरानो र ठूलो अस्पताल हो । सेन वंशीय राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवल फूलबारीबाट दुईजना भारतीय चिकित्सकबाट अस्पतालको सेवा सुरू गरिएको थियो । ३१ वर्ष बुटवल फूलबारीबाट सञ्चालन भएको अस्पताललाई १९९८ सालमा हाल रक्त संचार गृह रहेको स्थानमा सारिएको थियो । हाल रहेको स्थानमा भने २०१६ सालमा भवन निर्माण गरी सारिएको थियो । 

हाल अस्पतालमा ५ सय २० शैय्या पुगेका छन् । दैनिक २ हजारदेखि २ हजार ५ सयसम्म बिरामीहरू उपचारका लागि आउने अस्पतालमा सामान्य अवस्थामा पनि ७० प्रतिशत बढी बेडहरू बिरामीले भरिने गरेको अस्पतालले जनाएको छ । 

सरकारी तीन सय र अस्पताल विकास समितिमार्फत् १ सय गरी ४ सय बेडको मात्र स्वीकृति पाएको अस्पतालमा बिरामीहरूको अत्यधिक चापका कारण १ सय २४ बेड थप गरी ५ सय २४ बेडबाट बिरामीहरूलाई सेवा प्रदान भइरहेको छ । अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भइ सेवा प्रारम्भ गरेमा बुटवल स्वास्थ्यको हबको रुपमा स्थापित हुन सक्ने अस्पताल विकास समितिका अध्यक्ष अजमान श्रेष्ठले बताए ।