२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको सपना साकार हुँदै

शनिवार , भाद्र १५, २०८१

बुटवल, १५ भदौ ।
लामो समयको प्रतीक्षा र प्रदेश गौरवको आयोजनाको रुपमा रहेको रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल नयाँ भवन निर्माण प्रक्रिया मुख्यमन्त्री चेतनारायण आचार्यले पूरा गरेका छन् । लुम्बिनी प्रदेश सरकार स्थापना भएपछि प्रदेश सरकार मातहतमा आएको प्रादेशिक अस्पताल लुम्बिनीको स्तरवृद्धि र अत्याधुनिक नयाँ भवन निर्माणको प्रयास सुरु भएको थियो । 

संस्थापक मुख्यमन्त्री शंकर पोखरेल हुँदै अघि बढेको अस्पतालको नयाँ भवन बनाउने प्रक्रिया वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले पूरा गरेका छन् । २०७६ सालमा तत्कालीन सरकारले ड्रिम प्रोजेक्टको रुपमा अघि बढाउने प्रक्रिया थालेको थियो । 

लुम्बिनी प्रदेशका बिरामी विशेषज्ञ उपचार सेवा लिन काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्ने गरी लुम्बिनी प्रादेशिक अस्पताललाई १ हजार २ सय र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ६ सय श्ययाको अस्पताल बनाउने प्रक्रिया अघि बढेको थियो । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको लागि चालू आर्थिक वर्षमा १ अर्ब ८० करोड बजेट समेत बिनियोजन गरेको छ ।

मुख्यमन्त्री आचार्यको आमन्त्रणमा अस्पताल भवनको शिलान्यास गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल बुटवल आइसकेका छन् । प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा प्राथमिकतामा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शनिबार (आज) बिहान शिलान्यास गर्ने कार्यक्रम छ ।

लुम्बिनी प्रदेश सरकारको लागतमा टेण्डर प्रक्रिया सम्पन्न भई पुरानो संरचना हटाएर नयाँ संरचना निर्माण गरिन थालिएको हो । शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीहरुसहित विभिन्न विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको छ । 

अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिए ।
भवन निर्माणका लागि जग खन्न ७० प्रतिशत बढी पाइलिङ (जमिनमा मेशिनले प्वाल पारेर पिल्लर गाड्ने काम) सम्पन्न भइसकेको छ । कूल ७८५ वटा पाइलिङ गर्नुपर्नेमा ४९० पाइलिङ सम्पन्न भएको छ । वरीपरीका संरचनामा क्षति हुनबाट रोक्नका लागि १३ मिटर गहिरो पाइलिङ गरेर भवनको जग खन्ने काम गरिने छ । हाल ६५ जना कामदारबाट कम्तिमा दैनिक १० घण्टाका दरले काम भइरहेको हो ।

अस्पतालको नयाँ बन्ने भवनको डीपीआर अनुसार अत्याधुनिक भवनमा बहिरंग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्यूरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुनेछन् । भवनको माथि हेलिप्याड रहनेछ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ । क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ । 

नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन टा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने  ।
हालको संरचनाबाट विस्तार गरी १ हजार २ सय शैय्यामा बहु–अनुसन्धानात्मक अस्पतालको रुपमा स्तर उन्नति गर्न लागिएको छ । यसै क्रममा पहिलो चरणमा दुई नयाँ भवनहरु निर्माण गर्न थालिएको छ । जसअन्तर्गत पहिलो २ तहको बेसमेन्ट भएको ७ सय क्षमताको १० तले मुख्य भवन, दोश्रो १ तहको बेसमेन्ट र ४ तले १०० शैय्या क्षमताको क्यान्सर (अन्कोलोजी) भवन निर्माण हुनेछ ।

वि.सं. १९६७ फागुन १५ गते ६ शैय्याबाट सुरू भएको यो अस्पताल लुम्बिनी क्षेत्रकै सबभन्दा पुरानो र ठूलो अस्पताल हो । सेन वंशीय राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवल फूलबारीबाट दुईजना भारतीय चिकित्सकबाट अस्पतालको सेवा सुरू गरिएको थियो । ३१ वर्ष बुटवल फूलबारीबाट सञ्चालन भएको अस्पताललाई १९९८ सालमा हाल रक्त संचार गृह रहेको स्थानमा सारिएको थियो । हाल रहेको स्थानमा भने २०१६ सालमा भवन निर्माण गरी सारिएको थियो ।

हाल अस्पतालमा ५ सय २० शैय्या पुगेका छन् । दैनिक २ हजारदेखि २ हजार ५ सयसम्म बिरामीहरू उपचारका लागि आउने अस्पतालमा सामान्य अवस्थामा पनि ७० प्रतिशत बढी बेडहरू बिरामीले भरिने गरेका छन । सरकारी ३ सय र अस्पताल विकास समितिमार्फत् १ सय गरी ४ सय बेडको मात्र स्वीकृति पाएको अस्पतालमा बिरामीहरूको अत्यधिक चापका कारण १ सय २४ बेड थप गरी ५ सय २४ बेडबाट बिरामीहरूलाई सेवा प्रदान भइरहेको छ । अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भइ सेवा प्रारम्भ गरेमा बुटवल स्वास्थ्यको हबको रुपमा स्थापित हुन सक्ने अपेक्षा गरिएको छ ।