
शनिवार , भाद्र १५, २०८१
बुटवल, १५ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पताल शिलान्यास समारोहमा लुम्बिनी प्रदेशको लागि यो खुसीको क्षण भएको बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश बासिका लागि गौरवपूर्ण क्षण भएकाले खुसी बाडेका हुन् ।
प्रादेशिक अस्पताल निर्माणको प्रक्रिया २०७६ सालबाट सुरु भएको जानकारी दिदै उनले प्रदेशका नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न प्रदेश सरकार दृढ रहेको बताए । ‘विधिवत रुपमा अस्पताल बनाउन सुरु गरेका छौं । यहाँ प्राप्त सुझावलाई प्रदेश सरकारले आत्मसात गर्छ । यो आयोजनालाइ उच्च प्राथमिकमा राखेर प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ अर्ब ८० करोडको बजेट राखेका छौं । उनले भने, ‘प्रदेश सरकारले २४ अर्ब पूँजीगत बजेटमा अस्पतालबाहेक ५ अर्ब ६५ करोड रुपैयाँ बजेट रुपन्देही जिल्लामा बिनियोजन गरेको छ । अब बजेटको सही कार्यान्वयन आवश्यकता छ । बजेटको सही कार्यान्वयन गर्न नागरिक तहको खबरदारी जरुरी छ । जनताको निगरानी आवश्यक छ ।’
प्रदेश सरकारले रुपन्देही र बुटवल नगरीलाई उच्च प्राथमिकतामा राखेर आर्थिक हब बनाउने गरी महत्वपूर्ण योजना अघि बढाएको उनले स्पष्ट पारे । लुम्बिनी प्रदेशको प्रशासनिक क्षेत्र राप्ती उपत्यका देउखुरीमा १ वर्षभित्र १० वटा भवन सम्पन्न भएपछि बाँकी कार्यालय स्थानान्तरण गर्ने तर, अहिले हतार नगर्ने पनि स्पष्ट पारे । ‘रुपन्देहीलाई आर्थिक हबको रुपमा विकास गर्ने छौं । तिनाउ करिडोरमा नदी सभ्यतामा आधारित शहर निर्माण गर्नेछौं । लुम्बिनी प्रदेशको पवित्र भूमिमा बौद्दिक सर्किट निर्माण गर्नेछौं । उनले भने–‘लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण समय अघिनै सम्पन्न हुनेछ । हामी विश्वस्त छौं ।’
संघीय सरकारबाट गत वर्ष समानिकरण शिर्षकमा बजेट प्राप्त नहुँदा झण्डै साढे २ अर्ब बजेट दायित्व प्रदेश सरकारलाई थपिएको भन्दै संघीय सरकारले बजेट पठाउनुपर्नेमा उनले जोड दिए । ‘पाँचवटामध्ये चारवटा गौरवका आयोजनाको काम अघि बढेको छ । संघीय सरकारको साथ सहयोग प्रदेश सरकारलाई चाहिएको छ । उनले भने,– ‘गत वर्षको घाटा पूर्ति गर्न संघीय सरकारले ध्यान दिनुपर्ने छ । घाटा पूर्ति भएन भने प्रदेशका गौरवका आयोजना अप्ठ्यारोमा पर्ने जोखिम रहन्छ ।’ प्रदेशमा थालनी भएका गौरवका योजनालाई प्रदेश सरकारले ध्यान दिने उनको भनाइ छ ।
प्रदेश सरकार सुशासन र जवाफदेहीमा राम्रो अभ्यास थालेको जानकारी दिदै उनले प्रदेश सरकार नागरिकको सुझावको आधारमा अघि बढेको स्पष्ट पारे । शनिबार संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अस्पताल भवनका शिलान्यास गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij