२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

काँग्रेसले ठूलो जोखिम मोलेको छ : पर्यटनमन्त्री पाण्डे

आइतवार , भाद्र १६, २०८१

भैरहवा, १६ भदौ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाली काँग्रेसले ठूलो जोखिम मोलेको दावी गरेका छन् । उनले एमालेसँग मिलेर सरकार बनाउनु भनेको आफैमा ठूलो जोखिम भएको बताए ।

नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले भने, ‘एमालेसँग मिल्नु पनि छ, सरकार चलाउनु पनि छ, २०८४ सम्म टिकाउनु पनि छ । ८४ मा उसैसँग प्रतिष्पर्धा पनि गर्नुछ । उसैसँग प्रतिष्पर्धा गर्नका लागि काँग्रेस एकताबद्ध भएर राम्रो गर्नुपर्छ । मेयरसाबले राम्रो गर्नुपर्छ । म मन्त्रीले राम्रो गनुपर्छ । वडा सदस्य, वडाअध्यक्ष र अरु मन्त्रीहरुले राम्रो गर्नुपर्छ । हाम्रा पार्टीका सार्थीहरुले राम्रो गर्नुपर्छ । ’

काँग्रेसका सह–महामन्त्री समेत रहेका पाण्डेले २०८४ मा एमालेसँगको प्रतिष्पर्धा कसले राम्रो गर्यो भन्ने सन्दर्भमा काँग्रेसले राम्रो गरेको हो भन्ने कुरा देखाउने गरी बेलामा काम गर्नुपर्ने बताए । त्यो दिशामा पार्टीका निकाय र जनप्रतिनिधि केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए ।

उनले लुम्बिनी विकास कोषको कर्मचारी, पदाधिकारी र छेउको बासिन्दा हुनु पनि पुण्यको काम भएको बताए । उनले भने, ‘पुण्य कमाएर त्यो थलोमा जाने, त्यो थलोमा जन्मने, त्यो थलोको भूमिका निर्वाह गर्ने, पाप कमाएर निस्कनुपर्यो भने त्यो भन्दा ठूलो अपराध केही हुँदैन । त्यसैले तपाई हामी सबैले पुण्यकै बाटो खोजौं, रोजौं । पुण्यको सञ्चार कही हुन्छ भने त्यो थलो लुम्बिनी हो । भावनाले नै मानिस निर्देशित हुन्छ ।’

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान मात्र नभइ अब आन्तरिक उडानहरु पनि थप्नुपर्ने बताए । ‘काठमाडौंको विमानस्थल जसरी चलायमान छ । यति धेरै लगानी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको छ । यसलाई किन चलायमान नगर्ने, ’उनले भने । विश्वका विभिन्न मुलुकका बौद्ध धर्मावलम्बीहरु बुद्ध जन्मस्थल लुम्बिनी आउन खोजेको र सिधै भैरहवा विमानस्थलमा उनीहरुलाई अवतरण गराउन सकियो उनीहरुका लागि पुण्य प्राप्ती जस्तो हुने बताए । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउनका लागि सरकारले सहुलियत दिने निर्णय गरेको उनको भनाइ छ ।

बुद्धको जन्मस्थल लुम्बिनी भएकाले संस्कृतिको केन्द्रबिन्दुमा लुम्बिनी रहेको मन्त्री पाण्डेले बताए । बुद्ध शिक्षा र बुद्ध दर्शनलाई कुनै जात र धर्म विशेषको रुपमा मान्न नमिल्ने धारणा राखे।

त्यस्तै काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशील गुरुङले स्थलमार्ग हुँदै धेरै पर्यटक भित्रिने बेलहिया नाकालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा आफूहरु निराश भएको बताए । उनले भने, ‘यो विमानस्थलसँग हाम्रो मन जोडिएको छ । विमानस्थललाई सञ्चालन गर्नेपर्छ ।’

कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ (ख) का सभापति घनश्याम चालिसेको स्वागत तथा क्षेत्र नम्बर ३ का सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा कांग्रेस सिद्धार्थनगर–१३ का सभापति प्रकाश बहादुर सिंह खड्का, क्षेत्रीय सदस्य रुपमाया पुन, पर्यटन व्यवसायी संजय बजिमय, सिद्धार्थनगर–१० का सभापति विजयनाथ धवल, नेपाल तरुण दलका टीका जि.सी., सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, युवा नेता पंकज उदास लगायतले भनाइ राखेका थिए ।