
आइतवार , भाद्र १६, २०८१
भैरहवा, १६ भदौ ।
नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले शनिबार भैरहवामा तीज मिलन कार्यक्रम–२०८१ गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेमसंघ स्थायी कमिटी सदस्य लक्ष्मी कोइराला (भावना) ले तीज पर्वलाई सामाजिक जागरणको रुपमा लिनुपर्ने बताइन् । उनले नकारात्मक पक्षलाई हटाउँदै सकारात्मक रुपमा अघि बढ्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘चाडपर्वलाई कम खर्चिलो बनाउनुपर्छ, भडकिलो बनाउनुहुँदैन । तीज गीतको माध्यमबाट आफ्ना अधिकार मागेका छौं ।’
त्यस्तै एमाले रुपन्देहीका उपाध्यक्ष हितराज पन्थीले अनेमसंघ अन्य राजनीतिक दलको महिला संगठन भन्दा अब्बल रहेको बताए । उनले समाजमा रहेका विकृति र विसंगतिलाई चिर्न अनेमसंघले अगुवाइ गर्नुपर्नेमा जोड दिए ।
अनेमसंघ केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज ज्ञानु के.सी.ले महिलाहरुको योगदान र इतिहासबारे जानकारी हुनुपर्ने बताइन् । उनले अनेमसंघ र अग्रज नेताहरुको योगदानका कारण आज महिलाहरुले स्वतन्त्र रुपमा तीज पर्व मनाउन पाएको बताइन् ।
अनेमसंघ रुपन्देही जिल्ला अध्यक्ष विष्णु के.सी.ले अनेमसंघ सिद्धार्थनगर नगर कमिटीले तदारुकताका साथ विभिन्न कामहरु अगाडि बढाएको बताइन् ।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख तथा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य उमा अधिकारीले अगाडि बढ्ने र नेतृत्वमा पुग्ने हो भने एकआपसमा साथ दिनुपर्नेमा जोड दिइन् ।
अनेमसंघ सिद्धार्थनगर नगर कमिटीकी अध्यक्ष सिर्जना जोशी कार्कीले चाडपर्वलाई सामान्य रुपमा मनाउन आग्रह गरिन् । उनले महिला पनि सक्षम भएको बताइन् ।
अनेमसंघ सिद्धार्थनगरकी उपाध्यक्ष मन्जु भुसाल पाण्डेको स्वागत तथा सचिव मीना क्षेत्री बलालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij