
सोमवार , भाद्र १७, २०८१
देवदह, १७ भदौ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा रुपन्देहीको देवदहमा नगरपालिका–८ स्थित पाकडीमा रहेको फोर सिजन बार एण्ड रिसोर्टले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिकालाई नमूना पालिका बनाउन लागिरहेको बताउँदै सहकार्यका लागि आग्रह गरिन । तीज मनाउने बहानामा पछिल्लो समय विकृति भित्रिएको भन्दै सभ्य र विकृतिरहित ढंगबाट संस्कृतिको जर्गेना हुने गरी पर्व मनाउन उपप्रमुख गुरुङको आग्रह छ ।
उपप्रमुख गुरुङले रिसोर्टले नगरभित्र रहेर जागिर गर्ने तथा सफल व्यवसाय गर्ने र समाजसेवी महिलाहरुका लागि तीज विशेष कार्यक्रम आयोजना गरेर नौलो काम गरेकोमा रिसोर्टलाई धन्यवाद दिएकी थिइन ।
रिसोर्टले देवदह नगरपालिकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाका काम गर्ने, नगरभित्र सफल व्यवसायी र समाजसेवी गरी ५० जना महिलाहरुलाई दर खुवाएको रिसोर्टका सञ्चालकद्वय बादल पाण्डेय र घनश्याम पाण्डेयले जानकारी दिए ।
रिसोर्टका सञ्चालक बादल पाण्डेयको अध्यक्षता र विनिता श्रीसको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij