
मंगलवार , भाद्र १८, २०८१
भैरहवा, १८ भदौ ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले मुलुकलाई स्थायीत्व दिने गरी अघि बढेको बताएका छन् । उनले मुलुक नयाँ कोर्षमा अगाडि बढेको दावी गरे ।
रुपन्देहीको भैरहवामा मंगलबार भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीको पूर्ण बैठकमा बोल्दै मन्त्री ढकालले यस्तो बताएका हुन् । उनले अहिले नेपाली काँग्रेससँगै सरकारमा भए पनि भोलीको मुख्य प्रतिष्पर्धी पनि काँग्रेस नै भएको बताए । मुलुकलाई स्थायीत्व दिन काँग्रेससँग मिलेर सरकार सञ्चालन गरिरहेको उनको भनाइ छ ।
उनले बाम एकताको नाममा राजनीतिक अस्थिरतातर्फ धकेल्न नहुने बताए । ‘विगतमा माओवादीसँग एकता गरेर झण्डै करिब दुईतिहाई बहुमतको सरकार चलायौं । तर, त्यो टिक्न सकेन । केपी शर्मा ओलीले गरेका कामहरुले धेरैजना अत्तालिए, ’मन्त्री ढकालले भने ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य समेत रहेका नेता ढकालले मुलुकमा तमाम समस्या रहेको र समस्या समाधानमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार केन्द्रीत भएको बताए । उनले भने, ‘एमालेलाई अझै बलियो बनाउन सक्यौं भने एमालेसँगको प्रतिष्पर्धामा कसैले जित्न सक्दैन । पार्टीभित्र मन जोड्नुपर्छ । जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध अझ बलियो बनाउनुपर्छ ।’
उनले आफ्नो परिभाषित काममा आधारित भएर अघि बढ्न नेता–कार्यकर्ताहरुलाई अघि बढ्न आग्रह गरे । मन्त्री ढकालले मिसन–२०८४ धेरै लामो समीक्षा र इतिहासको मूल्यांकनपछि आएको साझा निष्कर्ष भएको बताए । उनले एमालेको नेतृत्व सक्षम र सबल भएकाले आम जनताको आशा केपी ओली भएको दावी गरे ।
त्यस्तै एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य भरत कुमार पोखरेलले वडा अधिवेशनलाई राम्रोसँग सम्पन्न गर्न आग्रह गरे ।
पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व प्रमुख (मेयर) हरि प्रसाद अधिकारीले अधिवेशन पार्टीको नेता–कार्यकर्ताहरुका लागि महायज्ञ जस्तै भएको बताए ।
एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले सबैलाई आफ्नो जिम्मेवारी कुशलतापूवर्क निर्वाह गर्न आग्रह गरे ।
पार्टीको रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थीले वडा अधिवेशनलाई ऐतिहासिक बनाउन र पार्टी निर्माणको काममा ध्यान दिन आग्रह गरे ।
एमाले रुपन्देही क्षेत्र नम्बर ३ का संयोजक नर बहादुर घर्तीले पार्टीलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिए ।
एमाले सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष अर्जुन कुमार गिरीको स्वागत तथा उपसचिव कुमार गुरुङको सञ्चालनमा बैठक सम्पन्न भएको छ । बैठकमा एमाले जिल्ला अध्यक्ष गैरे, उपाध्यक्ष पन्थी र सिद्धार्थनगर नगरपालिका अन्तर्गत रहेका जिल्ला सदस्यहरुलाई सम्मान गरिएको थियो ।
वडा अधिवेशन भदौ ३१ गतेसम्म सम्पन्न गर्ने निर्णय
बैठकले सिद्धार्थनगर नगरपालिका अन्तर्गत रहेका १३ वटै वडाका वडा अधिवेशन यही भदौ ३१ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले बताए । वडा अधिवेशन सम्पन्न भएलगत्तै नगर अधिवेशनको तयारी सुरु हुने थापाले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij