२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

योजना माग्न मन्त्रालय धाउनपर्दैन, प्रक्रियामार्फत आएका योजनामा मात्रै बजेट : मुख्यमन्त्री आचार्य

मंगलवार , भाद्र १८, २०८१

बर्दिया, १८ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना माग्नकै लागि मन्त्रालय धाउन नपर्ने बताएका छन् । उनले योजना छनोट प्रक्रियामार्फत अघि बढेका योजनालाई सरकारले कार्यान्वयन गर्ने भएकाले योजनाहरुको प्राथमिकता निर्धारण गर्न र विषयगत कार्यालयमार्फत अघि बढ्न निर्देशन दिएका छन् ।

नेकपा (एमाले) बाँके जिल्ला कमिटीको आयोजनामा बर्दियामा सुरु भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले बजेट रकमान्तरण नगर्ने भन्दै छुटेका योजनाहरुलाई अर्काे वर्ष सम्बोधन गरिने बताए । ‘योजना माग्नको लागि मन्त्रालय धाउन पर्दैन । तल्लो निकायबाट हुने योजना छनोटको प्रक्रियालाई फलो गरेर अघि बढेका योजना समावेश गरिन्छ । उनले भने– ‘पहुँचको आधारमा हुने योजना छनोटको विधिलाई निरुत्साहित गर्न खोजेका छौं । आवश्यकताका आधारमा प्रक्रियागत रुपमा अघि बढेका योजनालाइ छान्छौं ।’ 

लुम्बिनी प्रदेश सरकारले बनाउने आवधिक योजना र योजना बैंकमा समावेश योजनाहरुलाई वार्षिक योजनाको रुपमा छान्ने प्रक्रियाको थालनी गर्ने उनको भनाइ छ । ‘पहुँचको भरमा योजना छान्ने तर, कार्यान्वयन गर्न खोज्दा नहुने, ठाउँ फेला नपर्ने, विवाद हुने, स्वार्थ बाझिने जस्ता समस्याहरु सुनिन्छन । उनले भने–‘अब सरकारले आवधिक योजना र योजना बैंकमा रहेका योजनालाई वार्षिक योजनाको रुपमा अघि बढाउँछ ।’

समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तिको दायित्वको बारेमा प्रशिक्षण दिएका मुख्यमन्त्री आचार्यले सरकार गठन भएदेखि अहिलेसम्मका उपलब्धिको चर्चा समेत गरेका छन् । सरकारले गरेका राम्रा काम र अभ्यासहरुको खुलेर प्रचारप्रसार गर्न पार्टी पंक्तिलाई उनले निर्देशन समेत दिए । चुनावअघि र पछिको समयमा जनप्रतिनिधि, पार्टीबीचको सम्बन्धको बारेमा उनले चर्चा गरे ।

लुम्बिनी प्रदेश सरकारले सुशासन, पारदर्शीता, जवाफदेहीताका साथै नागरिकको विश्वास जित्ने गरी काम थालेको उनले स्पष्ट पारे । पूर्व विशिष्ट व्यक्तिहरुले पाउँदै आएको सुविधाहरु खारेज गर्ने, मुख्यमन्त्री र मन्त्रीहरुलाई आचारसंहिताको दायराभित्र राख्ने, पाँच लाख भन्दा माथिका योजनालाई प्रतिष्पर्धाको माध्यमबाट कार्यान्वयनमा लैजाने विषय सुशासनसँग जोडिएको भन्दै नागरिकहरुको विश्वास जित्ने गरी प्रदेश सरकारले काम अघि बढाएको उनले बताए । प्रदेश सरकार गठन भएको छोटो अवधीमा नै उपलब्धीहरु देखिएको तर, यसको प्रचारप्रसार हुन नसक्दा नागरिकहरुमा निराशा बढेको जस्तो देखिएको टिप्पणी गरे ।

योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार हुँदै बताउँदै उनले महिला सहभागीता र सशक्तिकरण, सामाजिक समावेशीकरण, मानव संसाधन विकास लगायतका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको उल्लेख गरे ।