
मंगलवार , भाद्र १८, २०८१
बर्दिया, १८ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया जिल्ला पर्यटनको दृष्टिकोणले राष्ट्रिय–अन्तर्राष्ट्रिय हब बनेको बताएका छन् । उनले बर्दिया राष्ट्रिय निकुञ्जले संरक्षणको क्षेत्रमा महत्वपूर्ण योग्गदान पुर्याएको, बाघ, हात्ती, गैडा लगायतका दुर्लभ बन्यजन्तु अवलोकनको राष्ट्रिय अन्तर्राष्ट्रिय गन्तव्य बन्न सफल भएको बताए । उनले अबर्दियालाई विश्व जगतमा ब्राण्डिङ्ग गर्न प्रदेश सरकारले पहल लिने बताए । बर्दियालाई धार्मिक, साँस्कृतिक दृष्टिकोणले समेत स्थापित गर्न सकिने उनको भनाइ छ ।
बर्दियाको जिल्लाको पवित्र धार्मिकस्थल ठाकुरबाबा मन्दिरको अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् । ‘यहाँको पर्यटन क्षेत्रलाई थप उचाईमा पुर्याउन सरकारले बनाउने पर्यटन सर्किटमा जोड्छौं । उनले भने, ‘लुम्बिनीमा आउने पर्यटकलाई बर्दिया राष्ट्रिय निकुञ्जमा ल्याउने, धेरै समय अडिने गरी प्याकेज बनाउने गरी काम भइरहेको छ । पर्यटनको विकासले समग्र लुम्बिनीको विकासमा टेवा पुर्याउँछ ।’
बर्दिया जिल्लाको समग्र विकासका लागि प्रदेश सरकारले योजना तथा बजेटमा प्राथमिकतामा पार्ने उनले प्रतिवद्धता व्यक्त गरे । चालू आर्थिक बर्षमा प्रदेश सरकारले बर्दिया जिल्लामा १ अर्ब बढी बजेट विनियोजन गरेको छ । बर्दियाको रैथाने कृषि बालि प्रबर्द्धनमा समेत सरकारले प्राथमिकतामा राखेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij