२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीद्वारा तीज मिलन

मंगलवार , भाद्र १८, २०८१

भैरहवा, १८ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीले मंगलबार भैरहवामा तीज मिलन तथा दर खाने कार्यक्रम गरेको छ । महिला दिदीबहिनीहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा कार्यक्रम गरिएको संगठनको रुपन्देही जिल्ला अध्यक्ष मीना देवी रिमालले बताइन् । उनले कला–संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘जातीय, क्षेत्रीय भावना त्यागेर राष्ट्रिय भावनाको विकास गर्नुपर्छ ।’

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले तीज पर्वमा महिलाहरु घरबाट निस्कनु पहिलो सामाजिक क्रान्ति भएको बताइन् । उनले तीज पर्वलाई दुःखसुख साट्ने थलो बनाए र आफ्ना छोरीहरुलाई शिक्षाबारे प्रेरणा दिए अत्यन्तै राम्रो हुने बताइन् । उनले भनिन, ‘आजको समाज विकृतितर्फ गए हानीकारक हुन्छ र यस्तो समाजमा हामीले निर्माण गर्नुहुँदैन ।’

केन्द्रीय सदस्य थापाले लक्ष्य प्राप्तीका लागि गरिएको संघर्षबारे सिक्नुपर्नेमा जोड दिइन् । उनले महिलाहरुलाई संविधानले दिएको अधिकार सुनिश्चित भए पनि कति प्रतिशत महिला कार्यकारी पदमा पुगे भन्ने कुराको समीक्षा आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘केही दिन पहिले रुपन्देहीको मर्चवारमा बलात्कारको घटना भएको छ । यो घटना सार्वजनिक भयो । तर, कतिपय यस्ता घटना सार्वजनिक भएका छैनन् । एउटा महिला शिक्षित भए परिवार शिक्षित हुन्छ ।’

उनले पार्टीलाई बलियो बनाए अवसर अवश्य नै प्राप्त हुने बताइन् । काम नगरी नेतृत्व तहमा पुग्न नसकिने उनको भनाइ छ । पार्टीको कामसँगै सामाजिक सेवामा लाग्न उनले महिलाहरुलाई आग्रह गरिन् । उनले भनिन्, ‘कला–संस्कृतिको संरक्षण गर्नुपर्छ ।’

त्यस्तै विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले महिला नेतृत्वको योगदान र आन्दोलनका कारण आफू यो पदमा पुग्न सफल भएको बताइन् । उनले भनिन्, ‘प्रमुख–उपप्रमुखमध्ये एकजना महिला अनिवार्य हुनुपर्ने भएकाले म उपप्रमुख पदमा पुगेको हुँ । यो महिलाहरुले गरेको आन्दोलन र योगदानकै कारण भएको हो । अरुलाई गाली गरेर हुँदैन । नेतृत्व तहमा पुग्ने क्षमताको विकास गर्नुपर्छ । ’ आगामी २०८४ को निर्वाचनमार्फत महिलाहरुलाई मुख्य पदमा ल्याउनुपर्नेमा उनले जोड दिइन् ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीकी कोषाध्यक्ष अप्सरा शाहीले विगतका वर्षहरुझै यस वर्ष पनि हरितालिका तीजको अवसरमा संगठनले कार्यक्रम गरेको बताइन् ।
संगठनकी रुपन्देही जिल्ला उपाध्यक्ष पुनम चौधरीको स्वागत तथा सचिव प्रतिमा काफ्लेको सञ्चालनमा सम्पन्न कार्यक्रममा राप्रपा रुपन्देही उपाध्यक्ष पदमा थापा, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन ओमसतिया गाउँपालिका अध्यक्ष चित्रलेखा चौधरी लगायतले बोलेका थिए ।

कार्यक्रममा संगठनको रुपन्देही जिल्ला सल्लाहकारमा मनोनित पदमा थापा, उमा राना र विनिता गुप्ता तथा जिल्ला सदस्यमा मनोनित सुशीला खवास र लक्ष्मी परियारलाई मनोनयन–पत्र प्रदान गरिएको थियो ।

IMG_7310.JPG
IMG_7221.JPG
IMG_7327.JPG
IMG_7337.JPG
IMG_7225.JPG