
मंगलवार , भाद्र १८, २०८१
भैरहवा, १८ भदौ ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले जनपक्षीय काम गरेका कारण प्रचण्ड नेतृत्वको सरकार ढालिएको बताएका छन् । मंगलबार भैरहवामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रूपन्देहीको २३ औं जिल्ला सम्मेलनको उद्घाटन गर्दै पुनले यस्तो बताएका हुन् ।
सरकारले जनताको पक्षमा काम गर्न थालेपछि सरकार ढाल्ने योजना बनेको उनले बताए । सरकारले सुशासनको क्षेत्रमा उल्लेख्य काम गरेको स्मरण गर्दै नेता पुनले भुटानी शरणार्थी लगायतका ठूला काण्डहरूको छानबीन गरेर दोषीलाई कारवाही गर्न थालेपछि नेपाली काँग्रेस र नेकपा एमाले आत्तिएर सरकार ढालेको आरोप लगाए । ‘सरकार किन ढालियो सबैलाई थाहा नै छ हामीले चाह्यौं भने सरकार फेर्न सक्छौं । तर, हामी सरकार फेर्ने पक्षमा छैनौं । हाम्रो ध्यान संगठन निर्माणमा छ, ’उनले भने ।
त्यस्तै माओवादी केन्द्र लुम्बिनी प्रदेश इञ्चार्ज तथा पूर्व कृषिमन्त्री चक्रपाणि खनालले दशवर्षे जनयुद्ध पृथ्वीनारायण शाहले गरेको राज्य एकीकरण पश्चात् ठुलो घटना भएको बताए । जनयुद्धका कारण महिला, दलित लगायत पछाडि पारिएको जर्ग क्षेत्र र समुदाय राज्यको मूल प्रवाहमा पुग्न सकेको उनले दावी गरे । वर्तमान संविधान जनयुद्धकै दस्तावेजीकरण भएको उनको भनाइ छ । जनयुद्धको दस्तावेजलाई पाठ्यक्रममा उल्लेख गर्ने जिम्मा अखिल (क्रान्तिकारी) को भएको उनले बताए ।
विद्यार्थी आन्दोलनलाई उत्पादनसँग जोड्न आग्रह गर्दै दैनिक सयौंको संख्यामा बाहिरिने विद्यार्थीलाई रोक्ने मार्गमा अग्रसर हुन सुझाए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij